१० वर्ष पछि युवा संघको अधिवेशन, तयारीमा जुट्दै नेपालगन्ज
Tuesday, March 28th, 2023, 5:45 am
Kalpristha
‘अधिवेशनले संघको नयाँ नेतृत्व, युवाहरुमा राजनितिक संस्कारको विकास, उत्पादनशिल क्षेत्रमा युवा परिचालन तथा राजनिति प्रति युवामा बढेको वितृष्णाबारेको बहस लगायतका एजेण्डा तय गरेको छ ।’
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १३ चैत

……..
१० बर्ष सम्म हुन नसकेको नेकपा एमाले सम्बद्व युवाहरुको संगठन राष्ट्रिय युवा संघको नवौं महाधिवेशन नेपालगन्जमा हुने तयारी सुरु भएको छ
आगामी चैत २७ देखि २९ चैतसम्म राष्ट्रिय युवा संघको नवौं महाधिवेशन नेपालगन्जमा हुने आयोजना हुने निर्णय भएसँगै युवाहरु त्यसको तयारीमा जुटेका छन् ।
नवौं महाधिवेशनको तयारीका लागि राष्ट्रिय युवा संघले विभिन्न समिति, उप समिति गठन गरिसकेको छ । सो आयोजना समापन गर्नका लागि केन्द्रीय अध्यक्ष किरण पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन गरेको छ भने जनपरिचालन उपसमिति, स्वयमसेवक उपसमिति, अतिथि सत्कार उपसमिति तथा अन्य उपसमिति समेत गठन गरिसकेको छ । यसका साथै अवको केहि दिनमा मिडिया डेस्कको समेत स्थापना गरिने राष्ट्रिय युवा संघका पुर्व सचिव रविन्द्र लम्सालले जानकारी दिए ।
यस आयोजनामा देशभरिका १७ सय ४१ जना युवा प्रतिनिधिका रुपमा नेपालगन्ज आउँनेछन् । यसका अलावा २ सय देखि ५ सय सम्म स्वयंम सेवक तथा अन्य सहभागि गरि सबै गरेर करिब १०–१५ हजार व्यक्तिहरु एकैपटक नेपालगन्जमा आउने राष्ट्रिय युवा संघ नवौं महाधिवेशनका लागि आवास समितिको संयोजक लम्सालले जानकारी दिए ।
‘यस आयोजनामा हामीले कम सहभागी गराएको नेपालगन्जको गर्मी र अनिश्चित मौसमका कारण मात्रै हो । नत्र, हाम्रो कम्तिमा पनि ६० हजार युवा जुटाउने लक्ष्य थियो । यस आयोजना सम्पन्न गर्नका लागि हामी कुनैपनि कुरामा विवाद नआउने गरि कार्यसम्पादन गर्ने छौं । हाम्रा केहि औपचारिक व्यवस्थापन बाहेक सबै तयारी हाम्रो पुरा भईसकेको छ ।’– लम्सालले भने ।
अधिवेशनले संघको नयाँ नेतृत्व, युवाहरुमा राजनितिक संस्कारको विकास, उत्पादनशिल क्षेत्रमा युवा परिचालन तथा राजनिति प्रति युवामा बढेको वितृष्णाबारेको बहस लगायतका एजेण्डा तय गरेको छ ।
पश्चिम नेपालमा रुपन्देहिको बुटवल शहर भन्दा यता युवा लक्षित कुनैपनि ठुला आयोजनाहरु नभएको बताउदै नेता लम्सालले नेपालगन्जमा आयोजना हुन गैरहेको यो अधिवेशनले नयाँ नेतृत्व सँगसँगै आन्तरिक पर्यटन प्रबर्धनमा समेत बल पुग्ने र सुस्ताएको बजार केहि दिनलाई भएपनि अलि सक्रियहुने बताए ।
‘यस आयोजनाले पश्चिम नेपालको नेपालगन्जमा पनि यतिठुला कार्यक्रमको आयोजना गर्न सकिन्छ । यहाँको बजार र यहाँका व्यक्ति तथा नेतृत्वहरु त्यसकालागि सक्षम छन् । भन्ने कुराको शन्देश देशभर जाने छ ।’–उनले भने ।
युवासंघका जिल्ला अध्यक्ष ज्ञानेन्द्र ओली लगायत जिल्लाका युवा नेताहरु समेत यसको तयारीमा जुटेका छन् । आगामी नीति र नेतृत्व चयन पनि गर्ने भएकाले नेपालगन्ज महाधिवेशनको ऐतिहासिक महत्व राख्ने युवासंघका जिल्ला अध्यक्ष ज्ञानेन्द्र ओलीको भनाइ छ ।
सो कार्यक्रमलाई अझ भव्य र व्यवस्थित बनाउनका लागि नेकपा एमाले बाँके शाखाले समेत आवश्यक समन्वय गरिरहेको पाटी अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।
यसैविच, नेकपा एमाले निकट राष्ट्रिय युवा संघले १० हजार राशीको खुल्ला निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । नवौँ राष्ट्रिय युवा सम्मेलनको अवसरमा ठुलो राशीको निबन्ध प्रतियोगिता आयोजना गर्न लागिएको युवा संघ बाँकेका अध्यक्ष ओलीले जानकारी दिए ।
‘समृद्ध नेपाल निर्माणमा युवा आन्दोलनको कार्यदिशा’ विषयक खुल्ला निबन्ध लेखन प्रतियोगितामा न्यूनतम १ हजार शब्ददेखि ३ हजार शब्दसम्म हुनुपर्ने छ । सो निबन्ध रचना गरी चैत्र २२ गते पाँच बजेसम्म नेकपा एमाले जिल्ला कमिटीको कार्यालय नेपालगन्जमा बन्द खाममा उपलब्ध गराउनुपर्ने अध्यक्ष ओलीले बताए ।
उक्त निबन्ध प्रतियोगिताको प्रथम पुरस्कार दस हजार, द्वितीय पुरस्कार सात हजार, तृतीय पुरस्कार पाँच हजार र सान्त्वना पुरस्कार पाँच जनालाई जनही दुई हजार रहेको छ ।