बैतडीमा झुटो विवरण देखाई शिक्षक नियुक्ति गरेको आरोप
Monday, March 27th, 2023, 9:08 pm
Kalpristha
शिक्षक अवस्थीलाई बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलब लगायतका सुविधाहरु निकास दिई जिल्ला शिक्षा अधिकारीको पद तथा ओहदाको दुरुपयोग गरेको आरोप लागेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ चैत
बैतडी जिल्लाका तत्कालिन जिल्ला शिक्षा अधिकारीले झुटा सरुवापत्र बनाएर शिक्षक नियुक्त गरेको आरोप लागेको छ । जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालिन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले नियुक्तिपत्र नै नभएको गैरशिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभुत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाएर आफै स्वीकृत गरेको पुष्टि भएको छ ।
शिक्षक अवस्थीलाई बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलब लगायतका सुविधाहरु निकास दिई जिल्ला शिक्षा अधिकारीको पद तथा ओहदाको दुरुपयोग गरेको आरोप लागेको छ । शिक्षा अधिकारी अमरप्रसादले सार्वजनिक सम्पत्तिको बदनियतपुर्वक ७४ हजार ९ सय २० रुपैयाँ हानिनोक्सानी गराएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा कारबाहीका लागि अख्तियारी दुरुपयोग अनुसन्धान आयोग नेपालले अदालतमा आरोप पत्र दायर गरिएको छ ।
शिक्षा अधिकारीको झुटो नियुक्तीको बारेमा टिप्पणी आदेश उठाउने तत्कालिन प्राविधिक सहायक स्वर्गीय संजय ठाकुर दनुवार, शिक्षक मनकाकुमारी अवस्थी, जिल्ला शिक्षा कार्यालयका तत्कालिन स्रोतव्यक्ति हरिनाथ, बलैराज निमावि बैतडीका प्रधानाध्यापक नर बहादुर कुँवर र बलैराज निमावि विद्यालय बैतडीका व्यवस्थापन समिति अध्यक्ष जयराज जोशी विरुद्ध पनि विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।