लागूओैषध विरुद्व निःशुल्क परामर्श केन्द्रलाई वडाको सहयोग
Tuesday, March 28th, 2023, 7:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ चैत्र
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १० ले लागूओैषध विरुद्व निःशुल्क परामर्श केन्द्र, नेपालगन्ज बाँकेलाई ५० हजार रुपैयाँ बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
लागूओैषध विरुद्व निःशुल्क परामर्श केन्द्र, नेपालगन्जमा आज एक कार्यक्रमका बीच वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठले परामर्श केन्द्रका अध्यक्ष दीपेन्द्र कुमार जोशीलाई केन्द्रका लागि चाहिने ओैषधी, स्टेशनरी तथा एक थान थ्री इन वन फोटोकपी मेशिन सहयोग स्वरुप हस्तान्तरण गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का वडा अध्यक्ष श्रेष्ठले हस्तान्तरण गरिएको सामग्रीको सही सदुपयोगको बारेमा जोड दिंदै केन्द्रलाई सहयोग गर्न पाएकोमा वडा गौरान्वित भएको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने वचनबद्वता व्यक्त गरे ।
कार्यक्रमका सभापति तथा परामर्श केन्द्रका अध्यक्ष जोशीले वडालाई धन्यवाद दिंदै यस्तो किसिमको सहयोगले हामीलाई कार्य गर्ने थप उर्जा मिलेको छ, र प्राप्त सामग्रीको सही सदुपयोग हुने कुरामा केन्द्र सदा सचेत रहने बताए ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुजन विक्रम शाहले लागू ओैषधले हाम्रो समाजमा दह्रो जरा गाडिसकेकोले हाम्रो युवा पिंढी यसको दलदलमा फँसिसकेकोले समाजमा देखेका लागू ओैषध कारोबारी तथा सेवनकर्ताको बारेमा हामीले तत्काल प्रहरीलाई खबर गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारीले लागू ओैषधले कुनै एक जात, एक समुदाय वा एक वर्गलाई मात्र नोक्शान पुर्याउँदैन, यसको लतमा जो कोही पर्न सक्छ र जो कोहीलाई यसले नोक्शान पुर्याउँछ, त्यसैले यसको नजिक कोही पनि पर्नुहुँदैन । सेवनकर्तालाई सबैले आ–आफ्नो ठाउँबाट सहजिकरण गरि सभ्य समाज निर्माणमा योग्दान दिनुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यलय, बाँके महिला सेलका कार्यालय प्रमुख प्रहरी निरिक्षक महेश्वरी विष्टले परामर्श केन्द्रले लागू ओैषधमा फँसिसकेकोलाई परामर्श दिने कार्य मात्रै होइन, लागु ओैषधमा फँस्न नदिनेतर्फ पनि केन्द्रले कार्य अगाडि बढाउनु पर्छ भन्दै केन्द्रको कार्यको प्रशंसा गरे ।
कार्यक्रममामा परामर्श केन्द्रका सहसचिव तथा कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर रानाले सहभागी सम्पूर्णलाई स्वागत गर्दै लागू ओैषध मुक्त समाज निर्माणमा हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।
केन्द्रका कोषाध्यक्ष सरला बिष्टले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर १० का वडा सदस्य, कार्यपालिका सदस्य लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका सामग्रीहरु परामर्श केन्द्रको नेपालगञ्ज गणेशमान चौकस्थित परामर्श केन्द्रमा प्रयोग गरिनेछ ।