नेपालगन्ज उद्योग वाणिज्य संघमा बन्ला त अबको अध्यक्ष ?
Wednesday, March 29th, 2023, 5:50 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ चैत
आउँदो असार पहिलो साता नेपालगन्ज उद्योग वाणिज्य संघको अधिवेशन गर्ने तयारी हुँदैंछ । नेपालगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व आउनको लागि सबै राजनितिक दलहरुले आ–आफ्नो तयारी थालेका छन् । अहिले विस्तारै सम्भावित अध्यक्षका नामहरु चर्चामा आउन थालेका छन् । नेतृत्वमा आउन चाहने व्यवसायीहरुले आन्तरिक रुपमा आफनो तयारी भने सुरु गरिसकेका छन् ।
राजनितिक दलहरु यसवेला आन्तरिक रुपमा आफ्ना उम्मेदवारहरु छान्ने र चुनावी रणनिति बनाउने तरखर गर्दैछन् । कतिपय राजनितिनक दलहरुले आफ्ना उम्मेदवारहरु अनौपचारिक रुपमा छानिसकेको अवस्था छ भने, कतिपय दलहरुमा उम्मेदवारमा सहमति हुन सकेको छैन ।
नेपालगन्ज उद्योग वाणिज्य संघको पुर्व नेता तथा सल्लाहकार कृष्ण प्रसाद श्रेष्ठ भने संघको नेतृत्व सकेसम्म सहमतिमै चुनिउन् भन्ने अपेक्षा आफुले राखेको बताउँछन् । ‘नेतृत्वमा आउन चाहने सबै व्यवसायीका समस्या तथा मुद्दा साझा हुन् । सबैले व्यवसायीका मुद्दा उठान गर्ने हो । यसर्थ, सकेसम्म सहमतिमै नेतृत्व चुनियोस भन्ने कामना हो ।’–उनले भने, ‘अन्यथा लोकतन्त्रले दिएको निर्वाचनको विकल्प त छँदै नै छ ।’
आउँदो चुनावमा नेकपा एमालेका तर्फबाट संघको नेतृत्वको लागि संजय अग्रवाल चर्चामा छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा एमालेले अग्रवाललाई अघि सार्ने चर्चा छ । यसैगरि नेपाली काँग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षका लागि ललित रौनियारको नाम चर्चामा छ ।यसअघिको निर्वाचनमा पनि रौनियार प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा प्रतिस्पर्धा गरेका उम्मेदवार हुन् ।
यता संघकै नेतृत्वको लागि बहालवाला महासचिव चिरन्जीवि ओलीले आफ्नो ईच्छा जाहेर गरेका छन् । संघका उपाध्यक्ष आदेश अग्रवाल माननीय भएसंगै महासचिव ओली आफुले क्रमबद्वताका आधारमा अध्यक्ष पाउनुपर्ने बताउँछन् ।
‘हाम्रो टिम छ । टिममा अरुपनि आकाँक्षी हुन सक्नुहुन्छ । त्यसबारेमा छलफल गरेर टिमले जे निर्णय गर्छ, मैले त्यहि मान्ने हो । यसकारणले अध्यक्षको उम्मेदवार बन्ने कुरा शतप्रतिशत होईन । तर, मेरो ईच्छा चाँही हो ।’– ओलीले भने । ओली यसअघि समावेशी समुह मार्फत संघको महासचिवमा निर्वाचित भएका थिए ।
राजनितिक दलहरुले संघको नेतृत्वको लागि आफ्ना–आफ्ना उम्मेदवार अघि सारिरहेका बेला केही व्यावसायीहरु भने पछि गएर चुनाव हुनै पर्ने अवस्था आएमा सत्ता समिकरण अनुसार विभिन्न राजनितिक दलहरु विच साझा प्यानल बनाएर चुनावमा जानसक्ने आँकलन गरिरहेका छन् । त्यसमा संघीय सरकारको सत्ता समिकरणले पनि प्रभाव पार्नेछ ।
अब हुने अघिवेशनबाट एकजना अध्यक्ष, महिला सहित ३ जना उपाध्यक्ष, १ जना महासचिव र २२ जना सदस्य गरि २७ सदस्यीय कार्यसमिति चयन हुने छ ।
यस अघि पदाधिकारीमा अध्यक्ष र उपाध्यक्षको मात्रै चुनाब हुने गर्दथ्यो भने संघको ३१ औं साधारण सभाबाट शंसोधित विधान अनुसार अब हुने निर्वाचनबाट एक जना अध्यक्ष र तिन जना उपाध्यक्ष लगायत सबै पदाधिकारीहरुले प्रत्यक्ष निर्वाचन लड्नु पर्ने छ ।