प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रालय भागबण्डाको प्रस्ताव
Tuesday, March 28th, 2023, 7:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ चैत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको संख्या भागबण्डाको प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ८ र आफ्नो दल नेकपा माओवादी केन्द्रलाई ५ मन्त्रालयको प्रस्ताव गरेका हुन् ।
उनले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई ३ मन्त्रालयको प्रस्ताव गरेका छन् । यद्यपि रास्वपा बैठकमा सहभागी थिएन । त्यस्तै, प्रचण्डले नेकपा एकीकृत समाजवादी (एस) लाई २ मन्त्रालयको प्रस्ताव गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा)लाई समेत २ मन्त्रालय दिने प्रचण्डको प्रस्ताव छ ।
जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपलाई १ र स्वतन्त्रका तर्फबाट १ जनालाई मन्त्री बनाउन प्रचण्डले प्रस्ताव गरेका छन् । बैठकमा प्रचण्डले रास्वपा तत्काल सरकारमा आएन भने पनि उसका लागि ३ मन्त्रालय खाली राख्नुपर्ने बताएका थिए ।
मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे समेत कुराकानी भएको थियो । मन्त्रालयको संख्या प्रस्ताव गर्ने बेलामा प्रचण्डले आफूले सबै दलसँग छुट्टाछुट्टै कुराकानी गरेको आधारमा राखेको बताएका थिए ।