अमृतपाल सिंह नेपालगन्जमा लुकेको आशङ्का
Wednesday, March 29th, 2023, 5:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ चैत
भारतको पन्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिख अभियन्ता अमृतपाल सिंह नेपालमा लुकेको आशङ्का गरिएको छ । सिंह नेपालमा आएको हुनसक्ने दाबी गरेर भारतीय दूतावासले नेपाल सरकारलाई पत्राचार गरेको छ । गृह मन्त्रालयमार्फत पत्र आएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारील जानकारी दिए ।
अध्यागमनका महानिर्देशक अधिकारीले अध्यागमन नाकाहरूमा निगरानी राखेको बताए । उनी भन्छन्- ‘विमानस्थल र अध्यागमन नाकाहरूमा निगरानी राखेका छौँ ।’ प्रहरी स्रोतका अनुसार सिंह नेपालगन्जमा लुकेर बसेको आशङ्का गरिएको छ । प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीले नेपालगन्जमा खोजी तीव्र बनाएका छन् ।
अध्यागमन विभागले अमृतपाल सिंहको फोटो दूतावाससँग मागेको छ । अमृतपाल सिंह नेपाल आएकोबारे प्रहरीलाई जानकारी नभएको बताउँछन् प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेल । पोखरेल भन्छन्- ‘आएको थाहा पाएका छैनौँ तर, हामी सचेत छौँ ।’ भारतीय दूतावासले नेपाल सरकारलाई लेखेको पत्रमा अमृतवाल विरुद्ध भारतमा लुक आउट सर्कुलर जारी भएको भनिएको छ ।