बाँकेमा मोटरसाईकल चोरीका घटना बढ्दैं
Friday, March 31st, 2023, 4:44 pm
Kalpristha
बाँके जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका अनुसार बाईक चोरीका घटना बढिरहेका छन् । प्रहरीले घटनामा संलग्नहरुलाई खोजि गर्ने कार्य तिव्र पारिरहेको छ । तर आसा गरेअनुसारको सफलता भने प्राप्त सकिरहेको छैन् । नेपालगन्ज बजार क्षेत्रमा मात्र होइन बाँके जिल्लाका वरपरका स-साना सहर र गाउँहरुमा पनि मोटरसाईकल चोरीका घटना बढिरहेका छन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ चैत
नेपालगन्ज भृकुटी नगरका सौरभ रानाको गत माघ १४ गते आफ्नै घर अगाडी पार्किङ गरेर राखेको मोटरसाईकल हरायो । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १७ भृकुटी नगरबाट सौरभको मोटरसाईकल बिहानैं चोरी भएको थियो । भे ५ ख १५५२ नम्बरप्लेटको मोटरसाईकल विहान १०ः३० मा घर अघाडी पार्क गरेर राखिएको थियो । एकछिनमा बाहिर निस्कँदा मोटरसाईकल त्यहाँ थिएन । मोटरसाईकल हराएपछि उनले प्रहरी र घरको वरपरका छिमेकीलाई खबर गरे । तर मोटसाइकल भेटिएन् ।
सौरभ भन्छन, ‘हेण्डल लक गरेर घरको गेट अगाडी राखिएको थियो । शनिबार बिहानै चोरी होला भन्ने थिएन । तर बिहानै घरको गेटबाट ७ मिनेटको अन्तरमा मोटरसाइकल हरायो । प्रहरीमा उजुरी पनि दिएको थियो । तर, अहिलेसम्म फेला पर्न सकेको छैन ।’
सौरभ जस्तै अहिले बाँकेमा थुप्रै मोटरसाइकल धनीहरुका मोटरसाईकल हराउने गरेका छन् । तर कमैका मात्र मोटसाईकल भेटिने गरेका छन् । बाँकेमा पछिल्लो समय मोटरसाईकल र साईकल हरेक दिन चोरी हुने गरेको छ । कति प्रहरीकोमा उजुरी दिन जान्छन्, केहि जादैनन् ।
बाँके प्रहरीका लागि मोटरसाईकल नियन्त्रण गर्नु चुनौति पुणर् बनिरहेको छ । नेपालगन्ज सहर भारतीय सहरको सिमाक्षेत्रसँग जोडिएको हुनाले चोरी घटनालाई बल पुग्ने गरेको छ । बाँके जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका अनुसार बाईक चोरीका घटना बढिरहेका छन् । प्रहरीले घटनामा संलग्नहरुलाई खोजि गर्ने कार्य तिव्र पारिरहेको छ । तर आसा गरेअनुसारको सफलता भने प्राप्त सकिरहेको छैन् ।
नेपालगन्ज बजार क्षेत्रमा मात्र होइन बाँके जिल्लाका वरपरका स-साना सहर र गाउँहरुमा पनि मोटरसाईकल चोरीका घटना बढिरहेका छन् । चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालय बाँकेमा १ सय ७४ वटा मोटरसाईकल चोरी भएको घटनामा उजरी परेको छ । जिल्लामा केहि स्थानमा बाहेक सबै क्षेत्रमा सिसी क्यामेरा समेत नभएकाले अपराध अनुसन्धानमा समस्या भएको बाँके प्रहरीले बताएको छ ।
परिणाम स्वरुप मोटरसाईकल चोरीका घटनामा परेका १ सय ७४ उजरी मध्ये चोरीका २० वटा घटनामा संलग्नलाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको छ । पक्राउ परेका २० जनालाई कारवाहीका लागि मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा चालु आर्थिक बर्षको साउनमा १३, भदौमा २५, असोजमा २२, कात्तिकमा १५, मंसिरमा २०, पुसमा १८, माघमा २१,फागुनमा तथा चैत १५ सम्म १५ वटा मोटरसाईकल चोरीका घटनामा उजरी परेको थियो ।
जसमध्ये बाँके प्रहरीले साउनमा ६, भदौमा ४, असोजमा २,कात्तिकमा १मंसिरमा २, पुसमा १ तथा माघर फागुनमा २-२ वटा मोटरसाईकल चोरीका घटनामा संलग्नलाई पक्राउ गरि कानुनी प्रक्रिया अघि बढाएको छ । चोरीमा संलग्नको खोजतलास तीव्र बनाईएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार चोरीका अधिकांश घटना हेर्दा मोटरसाईकलको हेण्डल लक नगरी पार्क गरेर अन्यत्र जादाँ चोरी भएको पाईएको छ । मोटरसाईकल चोरीको घटनामा बाँकेमा स-साना गिरोह नै सक्रिय भएका छन् । लागुऔषधी दूव्यर्सनीमा फसेका युवाहरु पनि मोटरसाईकलको चोरी गर्नेमा संलग्न हुने गरेको देखिएको प्रहरी बताउँछ ।