नवनियुक्त मन्त्रीहरूले लिए शपथ
Friday, March 31st, 2023, 5:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १७ चैत
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १-१ जनालाई मन्त्री नियुक्त गरेका छन् ।
कांग्रेसका उपसभापति पूणर्बहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् । जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । उनीहरुले शपथ लिएका हुन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेपाली कांग्रेसले ८ मन्त्रालय पाएकोमा ४ मन्त्री अझै पठाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले कानून, परराष्ट्र, युवा तथा खेलकुद, वन र स्वास्थ्य मन्त्रालय आफैँसँग राखेका छन् । यसैबीच आज जनमत पार्टीका अब्दुल खानले पनि खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन् ।