नगरको स्वच्छतामा कस्ले ध्यान दिने ?
Sunday, April 2nd, 2023, 8:38 pm
Kalpristha
–शिसिर सापकोटा
नेपालगन्ज पश्चिम नेपालमै लामो ईतिहास बोकेको शहर हो । सयौं बर्षअघि योजनाबद्व ढंगले बसाईएको नगर हो ।सुरुवाती दिनदेखि यहाँसम्म आईपुग्दा यस शहरले थुप्रै आरोह–अवरोह भोगेको छ । यो शहर कुनैवेला मेरा पुर्खाको नुन खाने थलो पनि हो । यसकारण पनि मेरालागी यो शहरको महत्व निक्कै धेरै छ । शहरीकरणका कारण पछिल्लो समय यहाँको जनघनत्व बढीरहेको छ । मुलुकका अन्य स्थानहरु भन्दा यो शहर एक कदम अघि छ । पश्चिम क्षेत्रमा स्वास्थ्य, शिक्षा, पर्यटन र विभिन्न धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले यो शहर अब्बल मानिन्छ । भारतिय बजारक्षेत्रसँग यस शहरको सिमाना जोडिएको छ । जसकारण यो शहर प्रमुख व्यापारिक केन्द्र पनि हो । नेपाल–भारत मात्रै नभएर तेस्रो मुलुकबाट पनि थुप्रै मान्छेहरु घुम्न आउछन् । आफ्नै मौलिक स्वादको पहिचानले पनि यो शहर शुप्रसिद्व छ । यहाँ घुम्न आउने पाहुनाहरु खानेकुराका स्वादको बयान गरेर थाक्दैनन् । ठेला देखि तारे होटलसम्मको स्वाद यसै शहरमा लिन सकिन्छ ।
हरेक क्षेत्रमा असिमित सम्भावना बोकेको शहर आफैमा भने निक्कै कुरुप स्वरुपमा रहेको छ । सबै कुराको बयान गरिरहँदा हरेक व्यक्तिको स्वास्थ्यसँग जोडिएको सरसफाई जस्तो गम्भिरकुराले भने कसैको ध्यानाकर्षण गराउन सकेको छैन । यहाँका चौडा सडक र साँघुरा गल्ली जताततै फोहर मात्रै हुन्छ । जसका कारण व्यक्तिहरुलाई सहज आवागमनमा असहज हुने गर्दछ । जसको प्रत्यक्षदर्शी म पनि हुँ ।
मेरो घर दैलेख भएपनि केहि समय यता मलाई नेपालगन्जले यहाँकै बासिन्दा बनाईदिएको छ । पहाडको दुर्गम गाँउबाट आएको मलाई यहाँको फोहोर देखेर सातो गएको छ । म बस्ने घर अघिको सडकछेउमा फोहोरको डंङ्गुुर छ, भन्न मलाई लाज लागिरहेको छ । तर, नेपालगन्जबासीका लागि भने यो नौलो कुरा होईन रहेछ । आम नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई लिएर सम्बन्धित निकाय किन मौन छ ? किन फोहोर व्यवस्थापन हुन सकेको छैन ? नेपालगन्जमा घुम्नका लागि आउने पर्यटकहरु फर्केर यहाँको बारेमा के खबर सुनाउदाहुन् ? मलाई त यहाँ कोहि ठुला र बौद्विक व्यक्तिहरु नै बस्दैनन् जस्तो लाग्छ । यदि बस्छन् भने किन आवाज उठाउदैनन् । यहि कुरा सहेर किन बस्छन् ?
यहाँको फोहर र दुगन्र्धले त सिंगो शहरको नाम नै बदनाम भएको छ । शहर भित्र फोहरको थुप्रो नभएको कुनै ठाँउनै छैन । यहाँका सबैजसो सडक र गल्लीहरु अत्यन्तै दुर्गन्धित छन् । यहाँका सार्वजनिक शौचालयको हविगत पनि झन छरपस्ट छ । जसका कारण यहा हिडडुल गर्नेले खुला रुपमा शौच गर्न बाध्य भईरहेका छन् । भने, सरकारले बर्षौ अघि घोषण गरिसकेको ‘खुला दिशापिसाब मुक्त क्षेत्र’ले स्थानिय निकायसंगै सिंगो राज्यलाई नै गिज्याईरहेको छ । नेपालगन्ज उप–महानगरपालिकामा स्थानिय सरकारको एउटा कार्यकाल सकिएर अर्को सरकारको पनि एक वर्ष वित्न लागिसक्यो । तर, यो समस्याले किन निकास पाउन सकेन । एउटा नगरभित्रको फोहरलाई व्यवस्थापन गर्न नसक्ने कस्ता व्यक्तिलाई हामीले स्थानिय सरकारको नेतृत्व सुम्पियौ । अनि कस्ता व्यक्तिलाई हामीले सदनमा पठायौं । कतै यसको दोषी हामी आफै त होईनौं ? यहाँका अधिकाँश व्यक्तिहरुले ‘यो समस्या यस्तै हो । हामीले भनेको कसैले सुन्दैन ।’ भन्ने गर्दछन् ।
तर, हामीले अवपनि यो समस्यालाई समाधान गर्न सकेनौ र यसको सुरुवात गर्न सकेनौ भने अब आउने समयमा यस शहरले कस्तो रुप लेला ? यसको कुरुपताले हाम्रो अब आउने सिंगो पुस्तालाई कस्तो प्रभाव पर्ला ? अव्यवस्थित शहरीकरण र बढ्दो जनघनत्वले प्रभाव पारिरहेको बेला यसलाई बैज्ञानिक ढँगले सन्तुलनमा ल्याउन सकिएन भने यसको परिणाम भयावह हुनसक्छ । यस्तो अवस्थामा फोहरमैला अव्यवस्थापनकै कारणले थुप्रै रोगहरु फैलिन सक्ने प्रवल सम्भावना हुन्छ । शहर भन्ने वित्तिकै गुणस्तरिय र सुखी जिवन हरेक व्यक्तिको मानसपटलमा आउछ । तर, यउटा फोहारी शहरमा गुणस्तरिय जिवनको परिकल्पना पनि गर्न सकिदैन । आज हाम्रो सानो लापरवाहिले भविष्यमा ठुलो खतरा निम्तिरहेको छ । जुन कुरा अब मनन गर्न जरुरी छ । हामी समस्या आईपरेपछि मात्र त्यसबारे सोच्न थाल्छौ । तर, समस्या नै आउन नदिन के गर्नपर्छ भन्ने बारेमा सोचेका हुँदैनौं ।
उसो त फोहर व्यवस्थापनका लागि भनेर देशकै नमुना योग्य फोहर व्यवस्थापन केन्द्र स्थापना भएको छ । तर, यसको प्रभावकारिता भने खासै देखिदैन । जसले गर्दा एकातिर यहाँका जनप्रतिनिहरु देशकै नमुना योग्य फोहर व्यवस्थापन केन्द्र स्थापना ग¥यौं भनेर भाषण दिईरहेका हुन्छन्, भने अर्कोतिर स्थानिय चोक चौराहामा फोहरी नेपालगन्जको चर्चा भईरहेको हुन्छ । यसकारण नगरको स्वच्छता र गौरवलाई बढाईराख्न सम्बन्धित सबै सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण हुन आवश्यक छ ।
(लेखक सापकोटा महेन्द्र बहुमुखी क्याम्पमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत समाजशास्त्रका विद्यार्थी हुन् ।)