न्याय माग्दै श्रीमान् बाट बेचिएकी निसा
Tuesday, April 4th, 2023, 5:58 pm
Kalpristha
निशा एउटा नेपाली समाजको उदाहरणीय पात्र हुन् । हरेक वर्ष यसरी भारत र तेस्रो मुलुकमा महिलाहरु बेचिने गरिएका छन् । लुम्बिनी प्रदेशको मानव बेचबिखन सम्बन्धी २७ वटा जाहेरीमा ३९ जना महिला र १ जना पुरुष गरी ४० जना मानव बेचबिखन तथा ओसारपसारबाट पीडित रहेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन २०७९ मा उल्लेख छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २० चैत
जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ८ की निसा विश्वकर्मा (परिर्वतित नाम)आफ्नै श्रीमानबाट बेचिएकी छिन् । सुवाकोटकी निसा विश्वकर्मा आफ्नै श्रीमानबाट भारतको जम्मुकस्मिरको एक होटेलमा ६ बर्षिय छोरी सहित बेचिएकी हुन् । ‘त्यतिवेला लव परेर विहे गरिहालें । विहे गरेको आठ वर्ष पछि श्रीमानले सौता हाले । हक माग्दा मुद्दा मामिला गर्न दिएनन् । दुईटै पक्षको पारिवारिक सहमतीपछि संगै बस्ने कुरा भयो । त्यसपछि संगै बस्न थालें । तर, छोरीलाई उपचार गर्ने बाहानामा मेरा श्रीमानले मलाई भारतको जम्मुकस्मिरमा लगेर बेचे ।’– निसाले भनिन् ।
‘छोरी सानै देखि अपांग छिन् । हात खुट्टा केही पनि आउँदैन । मात्र बोल्न सक्छिन हिड्न सक्दिनन् । भारत जानुभन्दा काठमाडौको कान्ति बाल अस्पताल र काभ्रेको बनेपा अस्पतालमा उपचारको लागि गयौं । त्यति बेला सम्म श्रीमानसँगको समन्ध पनि राम्रै थियो । त्यसको एक बर्ष पछि त्यहाँ उपचार सम्भव नहुने देखेपछि परिवारको सल्लाहमै हामी भारतको जम्मुकस्मिर गएका थियौं । तर, मलाई त्यहाँ पु¥याउने उसको परिवार र दोस्रो श्रीमती सबैको पुर्वयोजना रहेछ ।’
आफु जोखिममा रहेको थाहा पाउने वित्तिकै उनी स्थानिय प्रहरी र संघसंस्थाको सहयोगमा त्यहाँबाट उम्कन सफल भईन् । जम्मुकस्मिर पुगेको १७ औं दिनमा उनी सामाजिक संघसंस्थाको पहलमा नेपालगन्ज आईपुगेकी छन् । अपांग छोरीको उपचार गर्दा गर्दै दोस्रो श्रीमती लिएर भागेका उनका श्रीमान अहिले फरार छन् । उनी अहिले कानुनी उपचारको बाटोमा छिन् । तर, न्याय पाउने कुरामा भने अँझैपनि ढुक्क भईसकेको अवस्था छैन ।
‘मलाई त न्याय भन्दापनि छोरीको उपचारको चिन्ता छ । मुद्दा मामिलाको चक्करमा लागेर छोरीको उपचार गर्न सकिन भने जिवनभरिलाई दुःख हुन्छ । बहुविवाह गरेको बेला पनि मलाई आत्महत्या गर्छु, भन्ने धम्की देखाएर मलाई बेवकुफ बनाए । तर, अब त्यो ब्यक्तिलाई जुनसुकै हालतमा पनि म कानुनको कठघरामा उभ्याउन चाहन्छु ।’
चरन र निसाले नौ बर्ष अघि प्रेम विवाह गरेका थिए । चरन र प्रनिसाकी एक छोरी छिन् । उनी शारिरीक रुपमा अशक्त छिन् । निशा एउटा नेपाली समाजको उदाहरणीय पात्र हुन् । हरेक वर्ष यसरी भारत र तेस्रो मुलुकमा महिलाहरु बेचिने गरिएका छन् । लुम्बिनी प्रदेशको मानव बेचबिखन सम्बन्धी २७ वटा जाहेरीमा ३९ जना महिला र १ जना पुरुष गरी ४० जना मानव बेचबिखन तथा ओसारपसारबाट पीडित रहेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन २०७९ मा उल्लेख छ । ३९ जना महिलामा ११ जना जनजाती ९ जना क्षेत्री १५ जना दलित ३ जना मधेशी, १ जना ब्राह्मण छन् भने १ जना जनाजाती पुरुष पीडित रहेको देखिन्छ । यस्तै कर्णाली प्रदेशको मानव बेचबिखन सम्बन्धी ४ वटा जाहेरीमा ४ जना महिला मानव बेचबिखन तथा ओसारपसारबाट पीडित रहेको देखिन्छ । ४ जना महिलामा ३ जना दलित र १ जना ब्राह्मण महिला पीडित रहेको देखिन्छ ।
मानव–बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ ले यस्ता कार्यहरूलाई मानवताविरुद्वको गम्भीर अपराध मानेको छ । त्यसकारण यसप्रकृतिको अपराधमा दण्ड र सजायमा पनि त्यसै अनुसार कठोर व्यवस्था गरेको छ । जस अनुसार अधिकतम ३५ वर्षसम्म कैद हुन सक्ने र दुई लाख रुपैयाँसम्म जरिवानासमेत गर्ने व्यवस्था रहेको छ । नेपालमा प्रचलित कानुनहरूमा भएको अधिकतम सजायभित्र सबैभन्दा बढी मानिस किन्ने र बेच्नेलाई सजाय हुने व्यवस्था गरिएको छ ।
मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद तथा दुई लाख रुपैयाँजरिवाना, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना, प्रचलित कानुन बमोजिमबाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, वेश्यागमन गर्नेलाई एक महिनादेखि तीन महिनासम्म कैद र दुई हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
यसैगरि किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई १० वर्षदेखि पन्ध्र वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र बालबालिका लगेको भए १५ वर्षदेखि २० वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना तथा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १० वर्ष कैद र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र बालबालिका लगेको भए १० वर्षदेखि बाह्रवर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।