सिटी होटलको आइपिओ खुल्यो
Tuesday, April 4th, 2023, 6:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ चैत
सिटी होटल लिमिटेडले मंगलबार देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कम्पनीले निष्कासन गरेको हो ।
यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएपछि बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि भने कम्पनीले वैशाख २५ गतेदेखि निष्कासन गर्न लागेको हो । उक्त आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ ।
दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै ‘मरो सेयर’ अनलाइन प्रयोग गरी सी आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
सन् २०२० जुलाई १५ सम्म सात संस्थापकहरूको ९३ करोड ८० लाख रूपैयाँ लगानी रहेको देखिन्छ । यस आधारमा हाल होटलले जारी गर्न लागेको सेयरपछि चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ । सर्वसाधारणको स्वामित्वमा १५ प्रतिशत सेयर रहने सम्भावना छ । हायात प्लेस होटल गत वर्ष मात्र सञ्चालनमा आएको हो । काठमाडौं, सोल्टीमोडमा रहेको यो पाँचतारे होटलमा एक सय ५३ वटा कोठा छन् । कुल चार अर्ब ३९ करोड ६० लाख रूपैयाँ लागतको यो होटलमा २५ फेब्रुअरी २०२१ मा तीन अर्ब ५६ करोड ९० लाख रूपैयाँ लगानी भइसकेको छ ।
यो अवधिमा होटलले लिएको कर्जा दुई अर्ब ८४ करोड रकम कायम थियो । यो रकम होटलमा खर्च भइरहेको हो । होटल सन् २०२१ अगष्ट बाट सञ्चालनमा आउने भनिएकोमा केही ढिला हुन पुगेको थियो । तीन अर्ब १४ करोड ७० लाख रूपैयाँमा तयार हुने भनिएको यो होटलको सञ्चालन केही ढिलो हुँदा लागत बढेको हो ।
२१ जुनको विवरण अनुसार होटलको सञ्चालकमा शक्तिकुमार गोल्यान रहेका छन् ।