२०१६ सालमा स्थापना भएको थियो श्री त्रिभुवन नमुना मावि कोहलपुर । त्रिभुवन नाम जस्तै बाँकेमा उदाहरणीय विद्यालयका रुपमा परिचित छ । जहाँ अहिले कक्षा एक देखि १२ सम्म पढाई हुन्छ ।
यस विद्यालयमा विज्ञान, शिक्षा, व्यवस्थापन तथा विभिन्न प्राविधिक समुहका विषयहरु पढाई हुन्छ । खुला विद्यालय, विषेश शिक्षा तथा औधोगिक प्रशिक्षण लगायतका शैक्षिक कार्यक्रमका लागि चिनिएको विद्यालय हो ।
विद्यालयमा पढाई हुने विषयहरुबारे जानकारी दिंदै विद्यालयका प्रधानाध्यापक देवका बस्नेत थापा भन्छिन्,–‘प्राविधिक धार तर्फ १८ महिने तथा तिन बर्षे कम्युटर ईन्जिनियरिङ समेत पढाई हुन्छ भने कक्षा एक देखि १२ कक्षा सम्म दृष्टिविहिनहरुलाई भने विशेष शिक्षा पढाई हुन्छ ।’
उनले थपिन, ‘नियमित विद्यालय जान नपाउनेहरुलाई यहाँ खुला विद्यालय कार्यक्रमले समेटेको छ । विद्यालय आउन सक्ने तर आर्थिक अवस्थाले नभेट्ने जस्ता विद्यार्थीहरुका लागि छात्रवृत्ती सहितको २४ महिने औद्योगिक प्रशिक्षण पढाई हुन्छ । हामी कहाँ भएका यस्ता विभिन्न शैक्षिक कार्यक्रमहरुले सवै वर्ग र समुदायका बालवालिकालाई समेटेको छ ।’
त्रिभुवन नमुना माविमा अहिले कक्षा एक देखि १२ सम्म १ ५ जना दृष्टिविहिन विद्यार्थीहरुले विशेष शिक्षा लिईरहेका छन् । साथै ४० जनाले २४ महिने औद्योगिक प्रशिक्षण कार्यक्रममा अध्ययन गरिरहेका छन् ।
बाँके, बर्दिया मात्रै नभएर कर्णाली प्रदेका विभिन्न जिल्लाबाट समेत विद्याथीहरु पढ्न आउने प्रधानाध्यापक बस्नेत बताउँछिन् । विद्यालयका चार हजार बढी विद्यार्थीहरुलाई ७५ जना शिक्षकहरुले अध्यापन गराउदै आएको उनले जानकारी दिईन् ।
अभिभावकको विश्वास, विद्यार्थीको लगन र शिक्षकहरुको मिहिनतले आफ्नो विद्यालयले जिल्लामै नाम कमाउन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर बुढा बताउँछन् ।
विद्यालयले स्थापना कालदेखि नै गुणस्तरिय सेवा दिने कुरामा जोड दिंदै अध्यक्ष बुढाले अबका दिनमा उपयुक्त भौतिक संरचनामा उत्कृष्ट शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरामा आफुहरु केन्द्रित भएको बताउँछन ।
‘विद्यालयको व्यवस्थापनको नेतृत्वमा आएपछि मैले प्राथामिकतामा राखेको कुरापनि विद्यालयको समग्र शैक्षिक सुधार नै हो । किनभने अवको पुस्ताले अघिल्लो पुस्ताको शिक्षण पद्दती मन नपराएको अवस्था छ । यसकारण हामी प्रविधि मैत्री बन्न जरुरी छ । यसै कुरालाई मध्यनजर गर्दै हामीले अबका दिनमा एक पाईला प्रविधि तर्फ चाल्ने योजनामा छौं । त्यसका लागि हामी आन्तरिक छलफल मै छौं ।’
व्यवस्थापना, उत्कृष्ट नतिजा, समय सापेक्ष नमुना शैक्षिक कार्यक्रम जस्ता कुराले त्रिभुवनलाई बाँकेको नमुना विद्यालयका रुपमा परिचित गराएको छ ।
अतिरिक्त क्रियाकलापमा विद्यालय अगाडी छ । गत दुई महिना अगाडी भएको दोस्रो हिमालयन साईन्स फेस्टिवलमा त्रिभुवनका विद्यार्थीले महत्वपुर्ण सफलता हासिल गरेका थिए । त्यसबाहेक खेलकुद लगायतका प्रतियोगितामा पनि त्रिभुवनको सफलता गर्व गर्न लायकको छ ।