इ–रिक्सा व्यवस्थापन गर्दै नेपालगन्ज उप–महानगरपालिका
Sunday, May 7th, 2023, 6:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ बैशाख
इ–रिक्साहरुको चुस्त व्यवस्थापनमा जुटेको नेपालगन्ज उप–महानगरपालिकाले आजदेखि ‘सचेतीकरण अभियान’ थालेको छ । जेठ १० गतेसम्म चल्ने सचेतीकरण अभियानको सुरुवात गणेशमान चोकबाट गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, ट्राफिक प्रहरी, नगर प्रहरी, इ–रिक्सा प्रालिका प्रतिनिधि लगायत सरोकारवालाहरुले सडकमा गुडिरहेका इ–रिक्साहरुको आधिकारिकता परीक्षणसंगै अवैधानिक तरिकाले नचलाउन सचेत समेत गराएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए । नगरमा जथाभावी इ–रिक्सा चलाउँदा नियमन र अनुगमनसंगै अभिलेखीकरणमा पनि समस्या भएपछि नेपालगन्ज उप–महानगरपालिकाले दर्ता प्रक्रियामा ल्याउन यसअघि नै पटक–पटक ताकेता गरिसकेको छ ।
नेपालगन्ज उप–महानगरपालिका दर्ता भएका इ–रिक्सा मात्रै नगरभित्र सञ्चालन गर्न दिने स्पष्ट नीतिका साथ अघि बढेको छ । अन्य पालिकामा दर्ता भएका इ–रिक्सा पनि नेपालगन्जमै जथाभावीरुपले चल्दा व्यवस्थापनमा चुनौती थपिनुका साथै दुर्घटना समेत बढेको नगर प्रमुख प्रशान्त विष्टले बताए । ‘चालकले अनिवार्यरुपमा चालक अनुमतिपत्र लिएको हुनुपर्दछ, फोटोसहितको अभिलेख हामीले राख्छौं, नियमपूर्वक चलेका छन् कि छैनन् हेर्छौं, केही दिन सम्झाउँछौं, बुझाउँछौं,’ नगर प्रमुख विष्टले भने, ‘त्यसपछि भने हामी निर्मम ढंगले प्रस्तुत हुन्छौं, चुस्त दुरुस्त व्यवस्थापन गर्ने कुरामा दृढताका साथ अघि बढ्छौं ।’ उनले यो अभियानको समयावधिभित्र पनि दर्ता प्रक्रियामा नआउने इ–रिक्साहरुलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने स्पष्ट पारे । इ–रिक्सा व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख विष्टको भनाई छ ।
नेपालगन्ज उप–महानगरपालिकाले रिक्साहरुलाई राजश्व शाखामा अनिवार्य दर्ता गराउन पटक पटक सूचना समेत जारी गरिसकेको छ । राजश्व शाखामा दर्ता भएपछि चालक अनुमतिपत्र प्रदान गर्दै इ–रिक्सा चलाउँदा ध्यान दिनुपर्ने विषयमा आवश्यक तालिम समेत दिने गरिएको छ । नगरमा १२–१३ हजार रिक्सा सञ्चालनमा रहेको अनुमान छ । यी मध्ये हालसम्म २ हजार रिक्सा मात्रै राजश्व शाखामा दर्ता भएको शाखा प्रमुख विरबहादुर थापाले जानकारी दिए । निजी प्रयोजनका लागि भनेर किनिएका रिक्सा सार्वजनिक साधनका रुपमा प्रयोग गर्नेको संख्या अत्याधिक रहेको छ । रातो नम्बर प्लेटलाई आफूखुसी कालो बनाएर चलाउनेहरुको संख्या पनि ठूलो देखिएको छ ।
उपप्रमुख राईले नेपालगन्जले थेग्न नसक्ने गरी अनियन्त्रितरुपमा बढेका इ–रिक्साहरुको उचित व्यवस्थापन गर्न लागिपरेको बताए । केही दिन सचेतनामूलक अभियान चलाउँछौं, हाम्रो नीति र मापदण्ड अनुसार चल्न सचेत बनाउँछौं, दर्ता प्रक्रियापछि पार्किङ, रुट अनुमति लगायतका विषयमा योजनाबद्ध हिसाबले अघि बढ्छौं, उपप्रमुख राईले भने । इ–रिक्सामा साइड सिसा राखे/नराखेको, एक साइडमा डण्डी हाले/नहालेको, रातो नम्बर प्लेटका रिक्साले यात्रु ओसारे/नओसारेको, रातोलाई आफूखुसी कालो बनाएर अवैध ढंगले चलाए/नचलाएको, हेडलाइटको अवस्था लगायत कुरालाई मसिनो गरी हेरेर नियमन र अनुगमनको पाटोलाई प्रभावकारी बनाइने नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ ।