तोकिएको क्षेत्रमा रहने गरी नेपालगन्जका ठेलालाई नम्बर प्लेट र परिचयपत्र
Sunday, May 7th, 2023, 6:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ बैशाख
नेपालगन्ज उप–महानगरपालिकाले ठेला व्यवसायीहरुलाई परिचयपत्रसंगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ । ठेला व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको हो । ठेलाहरु रहने निश्चित क्षेत्रहरु तोकी जथाभावी ठेला राख्ने प्रबृत्तिको अन्त्य गर्न नम्बर प्लेट र परिचयपत्र उपलब्ध गराएर व्यवस्थित बनाइएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।
मुख्य चोक र भिडभाड हुने क्षेत्रहरुमा अस्वस्थ तरिकाले जथाभावी ठेला राख्ने प्रबृत्तिलाई निरत्साहित गर्दै व्यवस्थित सहर बनाउने उद्देश्यका साथ ठेला व्यवस्थापनको कार्यलाई अगाडि बढाइएको विष्टको भनाई छ । “अब तपाईंहरुले जहाँ पायो त्यहीँ ठेला राख्न पाउनुहुन्न, हामीले तोकेको क्षेत्रमा व्यवस्थित गरिकाले ठेला राखेर व्यापार व्यवसाय गर्नुहोला, तपाईंहरुकै सहजताका लागि हामीले यो काम गरेका छौं,” परिचयपत्र र नम्बर प्लेट प्रदान गर्दै उनले भने, “भारतीय ठेला व्यवसायीहरुले अनाधिकृतरुपमा ठेला राख्ने कुरा अब यसले बन्द हुन्छ, तपाईंहरु नियम कानुनभित्र रहेर बस्नुहोला ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले मुख्य चोकका भित्री गल्लीहरुमा व्यवस्थित गरि ठेला राख्न पाउने गरी व्यवस्थापन गरिएको बताउँदै भने, “व्यवस्थापन कार्यमा ट्राफिक प्रहरी र नगर प्रहरीलाई सघाउनुहोला, अटेरी गर्ने काम नगर्नुहोला, नत्र कारवाही हुन्छ ।” वडा नम्बर १२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले नर्सिङ होम क्षेत्रका ठेलालाई भेरी प्राविधिक शिक्षालय जाने बाटोमा निर्मित सटरहरुमा व्यवस्थापन गरिने बताए । रात्रीकालीन बजारको अबधारणासहित उक्त क्षेत्रमा सटरहरु बनाइएको बताउँदै बज्राचार्यले स्वत:स्फूर्तरुपमा आफ्ना सटरहरु त्यस क्षेत्रमा स्थानान्तरण गर्न आग्रह गरे ।
नेपालगन्ज उप–महानगरपालिकाले गरेको आह्वान बमोजिम हालसम्म १०९ वटा ठेला दर्ता भएका छन् । ती ठेलाहरुलाई परिचयपत्र र नम्बरप्लेट प्रदान गरिएको छ । आज मात्रै ४३ जना ठेला व्यवसायीले परिचयपत्र र नम्बर प्लेट लिएर आ–आफ्नो तोकिएको क्षेत्रमा गइसकेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए ।
नेपालगन्ज क्षेत्रमा नेपाली व्यवसायीले मात्रै सञ्चालन गरेको ठेलाको संख्या १५० को हाराहारीमा रहेको अनुमान छ । भारतीय व्यक्तिहरुले सञ्चालन गरेको समेत गरी झण्डै २५० देखि ३०० ठेला नगरभित्र रहेको बोगटीको भनाई छ । ठेला दर्ता गर्न नेपाली नागरिकता अनिवार्य गरिएको छ । बोगटीले दर्ता प्रक्रियामा नआएका ठेलाहरुको खोजी गरी दर्ता गराइने बताउनुभयो । ठेला व्यवसायीहरुले उप–महानगरपालिकाले ठेला व्यवस्थापनका लागि गरेको काम स्वागत योग्य भएको भन्दै आफूहरु नियम कानुन पालनामा प्रतिबद्ध रहने बताएका छन् ।