ठगी आरोपितलाई बेतहनी प्रहरी चौकी प्रमुखको संरक्षण
Tuesday, May 9th, 2023, 11:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा,२५ वैशाख
ऋण दिने भन्दै झुक्याएर कागज गरी ठगी गर्ने बाँके डुडुवाका एक आरोपीलाई प्रहरीले संरक्षण गरेको आरोप लागेको छ । बाँके डुडुवा–२ रामनगरका रामआसरे यादवलाई ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । तर स्थानीय प्रहरीले भने उनलाई प्रक्राउ नै नगरेको पिडितले गुनासो गरेका छन् । स्थानीय प्रहरी चौकीका प्रमुखले आरोपीतलाई संरक्षण गरेको स्थानीय बताउँछन् । ठगी मुद्दाका आरोपी यादव खुलेआम रुपमा गाउँघरमै घुमिरहेपनि प्रहरीले नखोजेरै नभेटिएको भनी मुचुल्का कागज बनाएर जिल्ला प्रहरी कार्यालयमा पठाएको बुझिएको छ ।
आरोपको बारेमा बेतहनी प्रहरी चौकीका इन्चार्ज असई गंगा थापाले स्पष्ट जवाफ नदिई यादवलाई खोजविन गरेपनि फेला नपारेको बताए । जिल्ला प्रहरी कार्यालयको आदेश अनुसार आफुले घरमा खोजेको तर नभेटेपछि मुचुल्का कागज बनाएर पठाएको थापाले बताए ।
घरपरिवारको एक्लो घरमुलीको रुपमा रहेकी बाँके डुडुवा–२ उचुवा बाबाकुट्टीकी ७५ वर्षिय कबुतरादेबी अहिरले डेढ वर्ष अघि राम आसरेसंग ऋणका लागि पैसा मागेकी थिईन । त्यसपछि राम आसरेले नेपालगन्ज स्थित मालपोत कार्यालयमा ल्याएर आठ लाखमा करिब दुई कठठा जग्गा झुक्काएर दृष्टिबन्धक गरि बजारमा पैसा चोरी हुने डर रहेको र घरमा दिने भनेर ल्याएको तर उनलाई यादवले कति पनि पैसा नदिएर आलटाल गरेर टार्दै गएका थिए ।
कबुतराले तमसुक भनेर सही छाप गरेको तर पछि जग्गा नै कब्जा गरेपछि आफु न्यायका लागि अदालतसम्म पुगेको बताईन । उनले भनिन, ‘मलाई फकाएर ऋणको पैसा दिने लोभमा एक रुपियाँ पनि दिएन । उल्टै मेरो जग्गा हड्प्यो, मैले पछि थाह पाए ।’
कबुतराको ठगीविरुद्धको निवेदन समेत प्रहरी कार्यालयले दर्ता गर्न मानेन त्यसका लागि उच्च अदालतको परामादेशपछि मात्र मुद्दा दर्ता भयो । हाल अदालतले उक्त मुद्दामा पक्राउ पुर्जी जारी गरेपनि आरोपी अझै पक्राउ नपरेर प्रहरीले समेत संरक्षण गरेको छ ।
लेनदेनको कार्यमा निकै सक्रिय यादवले गाउँका अन्य व्यक्तीहरुलाई समेत ठगी गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका । यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरसंग बुझ्दा उनले आफुलाई यस घटनाबारे जानकारी नभएको बताए । घटनाको बारेमा तत्काल बुझेर अनुसन्धान गर्ने घर्तिमगरले जानकारी गराए ।