पेस्तोल सहित किङक्रस क्लबबाट तिन युवा पक्राउ
Wednesday, May 10th, 2023, 10:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ वैशाख
नेपालगन्ज सुर्खेत रोडमा रहेको किङक्रस क्लबमा झगडा गर्ने तिन युवाहरुलाई बाँके प्रहरीले अमेरिकन अटोमेटिक पेस्तोल सहित प्रक्राउ गरेको छ । बुधबार राती ११ः३० बजेको समयमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ स्थित किङक्रस क्लबमा झगडा भैरहेको सुचना आएपछि प्रहरी त्यहाँ पुगेको थियो । झगडा गर्नेहरुको साथमा पेस्तोल समेत भएको प्रहरीमा खबर पुगेको थियो ।
नाइट क्लबमा किङक्रसमा प्रहरी पुग्दा झगडा गर्ने बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ८ का २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय सागर शाह र कोहलपुर नगरपालिका वडा नम्बर ९ निवासी २९ वर्षिय धर्मपुनलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी आएको थाहापाएपछि सुमन रिजालले क्लबको भुईतलामा रहेको शौचालयमा हतियार लुकाएका थिए । शौचालयमा खानतलासी लिंदा प्रहरीले त्यहाँबाट ‘मेडइन युएसए नम्बर–११११’ लेखिएको एक वटा स्वचालित अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनमा लोड गरेको पिधमा पिनको खत भएको १ राउण्ड गोली बरामद गरेको थियो ।
साथै पक्राउ परेका युवाहरुले प्रयोग गर्ने बा ११ च ८०० नम्बरको कारलाई प्रहरीले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ स्थित चन्दननाथ होटल नजिकको सडकमा पार्किङ गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार कारको खानतलासी गर्दा कार चालकको सिटको बायाँ तर्फको सिटको तलबाट एक वटा खुकुरी बरामद गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेका युवाहरुलाई अवैध रुपमा हातहतियार राखेको कसुरमा मुद्दा चलाउने तयारी भएको छ ।

……….