भारतीय सत्तापक्षलाई रिझाउने प्रयास गर्दै पुर्व राजा ज्ञानेन्द्र
Wednesday, May 10th, 2023, 11:00 pm
Kalpristha
आखिर किन भेटिरहेका छन् त पुर्व राजा ज्ञानेन्द्रले भारतीय नेतासँग भन्ने कुरा आम मानिसले चासोका साथ हेरेका छन् । नेपालमा राजनिति दलहरुप्रति आर्कषण घटिरहेका बेला राजाले यसलाई उपयुक्त अवसरका रुपमा प्रयोग गर्दै राजसंस्था पुर्नस्थापन गर्ने प्रयास गरिरहेका छन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ वैशाख
नेपालमा राजसंस्था पुर्नस्थापना गर्ने अभियानमा सक्रिय भैरहेका पुर्व राजा ज्ञानेन्द्र शाह भारत यात्रामा निस्किएका छन् । भारत यात्राका क्रममा राजा ज्ञानेन्द्रले बुधबार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन् ।
पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शाह र योगीबीच बुधबार दिउँसो उत्तर प्रदेशको राजधानी लखनऊमा भेट भएको थियो । पूर्वराजा आफनो परिवारका अन्य सदस्य सहित आदित्यनाथसँग भेटेका थिए ।
पूर्वराजा शाह वैशाख २२ गते रूपैडिया नाकाबाट भारत गएका हुन । उनको सचिवालयका अनुसार शाह १० दिने भ्रमणका लागि भारत गएका छन् ।
आदित्यनाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासीला पात्र मानिन्छ । भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथलाई अब भारतको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । आदित्यनाथसँग पुर्व राजा ज्ञानेन्द्र यसअघि पनि नेपालगन्ज भ्रमण आएका बेला भेटन गएका थिए ।
उनले लगातार आदित्यनाथसँग भेटघाट गरिरहँदा यसले कुटनीतिक रुपमा थुप्रै प्रश्नहरु उत्पन्न गराएको छ । आखिर किन भेटिरहेका छन् त पुर्व राजा ज्ञानेन्द्रले भारतीय नेतासँग भन्ने कुरा आम मानिसले चासोका साथ हेरेका छन् । नेपालमा राजनिति दलहरुप्रति आर्कषण घटिरहेका बेला राजाले यसलाई उपयुक्त अवसरका रुपमा प्रयोग गर्दै राजसंस्था पुर्नस्थापन गर्ने प्रयास गरिरहेका छन् । भारतीय सत्तापक्षलाई रिझाउन सक्ने नेपालमा राजसंस्था पुर्नस्थापना गराउन सहज हुने अनुमान गर्दै पुर्व राजा ज्ञानेन्द्रले त्यसमा ध्यान केन्द्रित गरेका छन् ।
नेपालगन्जलाई आधार बनाएर पुर्व राजा ज्ञानेन्द्र एक महिनाको भ्रमणमा निस्किएका छन् । नेपालगन्ज भ्रमणका क्रममा उनलाई यहाँ नागरिक अभिन्नदन गरिएको थियो । ज्ञानेन्द्र जुम्लाको भ्रमणमा पनि गरेर फर्किएका थिए । एक महिने निजी भ्रमणलाई ज्ञानेन्द्रले धार्मिक भ्रमणसँगै यसलाई कुटनितिक रुपमा पनि प्रयोग गर्दै आएका छन् । जसको प्रयोग उनले पछिल्लो समय भारतीय सत्ता पक्षका प्रभावशाली नेतालाई खुसी पारेर नेपालमा हिन्दु अधिराज्य र राजसंस्था पुर्नस्थापना गर्ने अभियानमा समर्थन जुटाउन प्रयोग गरिरहेका छन् ।