दीर्घकालीन विकासको आधार तयार गर्दै वडा
Friday, May 12th, 2023, 9:31 pm
Kalpristha
कामकै कारण वडामा दीर्घकालीन विकासको आधार स्तम्भ तयार भएको छ । अवका दिनमा यिनै आधारमा टेकेर काम गर्न सक्ने हो भने थुपै्र कामहरु गर्न सकिन्छ । हामीले विकासको लागि एक खालको बाटो बनाईसकेका छौं ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २९ बैशाख
नेपालगन्ज उप–महानगरपालिकाको मुटुमै रहेको एक नम्बर वडा स्थानीय तह चुनाव अघि भौतिक र सामाजिक दुवै हिसावले पछाडी परेको थियो । स्थानीय तह स्थापना देखी दोस्रो कार्याकालसम्म आईपुग्दा वडाले विस्तारै विकासको बाटो समाउन थाल्यो । अध्यक्षका रुपमा दोस्रो कार्यकालको लागि प्रमोज रिजाल निर्वाचित भएपछि वडाले थुप्रै काममा सफलता हासिल गरिसकेको छ । खेलमैत्री वडाको रुपमा चिनिएको १ नम्बरमा रहेको धम्बोझी क्लब देशकै उच्च स्तरको व्यवसायिक फुटबल खेल्ने बाँकेको एकमात्र क्लब हो । यससँगै वडाले हरेक टोलमा कालोपत्रे निर्माण गर्ने निति लिएसंगै यहाँका बाटाघाटा र नालाहरु सोहि अनुरुपले निर्माण भईरहेका छन् । कालोपत्रे, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणमा वडाले काम गरिरहेको छ ।
सामाजिक विकास तर्फ पनि वडाले पाईला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ । यसैगरी युवा र खेलकुदलाई प्राथमिकतामा राखेर वडाले थुप्रै कामहरु गरेको छ । वडाले खेलकुदका क्षेत्रमा समेत खेलकुद प्रशिक्षण भवन निर्माण, व्याटमिन्टन कोर्ट निर्माण तथा युवालाई खेलसँग जोड्ने कुरामा राम्रो प्रयास गरेको छ । वडाले अहिले पनि आफ्ना युवाहरुलाई व्याडमिन्टन, लङटेनिस, बास्केटबल, फुटबल लगायतका खेलहरु सिकाउन प्रशिक्षकको व्यवस्था समेत गरेको छ ।
स्वास्थ्य क्षेत्रकै कुरा गर्ने हो भने पनि वडाले कोरोनाको समयमा प्रभावित वडावासीका लागि हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि सवैको संयुक्त समुहमा वडा भित्र रहेका कोभिड प्रभावितको घर दैलोमा पुगेर चेकजाँच गरि औषधी सहित आवश्यकता अनुसार अक्सिमिटरको व्यबस्था गरेको थियो । खोप मुक्त वडा घोषणा गरिसकेका छौं । वडामा रहेका सामुदायिक विद्यालयको अनुगमन र तिनलाई व्यवस्थित बनाउने काम पनि वडाले गरिरहेको बताउँदै वडाध्यक्ष प्रमोद रिजाल भन्छन, ‘वडाको सामुदायिक विद्यालयमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्र वृत्तिका कामहरु भएका छन् । सरसफाईका क्षेत्रमा वडामा उल्लेखनीय काम भएका छन् । वडा भरीमा सरसफाईका लागि तथा फोहोरलाई व्यबस्थित गर्नको लागि वडाबाट आफेैले ट्रेक्टर खरिद गरेर संचालन गरिएको छ । कृषिका क्षेत्रमा हामीले एक घर एक करेसाबारी निति अपनाएका छौं । बेच्न नसके पनि किन्न नपरोस भन्ने हाम्रो उद्देश्य हो ।’
स्वरोजगारका क्षेत्रमा धेरै काम भएको उनले बताए । यहाँ विकासका सबै सूचकहरुमा काम भएको बताउँदै रिजालले रोजगारीका सवालमा आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको बताए । आयआर्जनको लागि बनाइएका तमाम योजनाहरु कार्यान्वयन गरेको उनको भनाई थियो । वडाध्यक्ष रिजालले भने,‘वडाको सौन्दर्यकरणमा वाटरपार्क समेत गरि विभिन्न धार्मिक स्थल संरक्षण लगायतका कामहरु गरेका छौं । सौन्दर्यकरणका सवालमा हामीले हामीकहाँ भएका पार्क तथा मन्दिरहरु लगायत सामुदायिक कुराहरुको संरक्षण र उचित व्यवस्थापनमा हामी लागि परेका छौं ।’
रिजाल भन्छन,‘वडाबाट हुने सेवा प्रवाहका सवालमा अनलाईन प्रणालीबाट वडाले सेवा दिईरहेको छ । वडा कार्यालयलाई हामीले व्यबस्थित गरेका छौं । सकेसम्म छिटो मुस्कान सहितको सेवा दिने हाम्रो उद्देश्य हो । यसकारण पनि ‘मुस्कान सहितको सेवा’ हाम्रो मुल मन्त्र हो । कुनै पनि सेवाग्राही सेवा नपाएर वडाबाट फर्किन परेको छैन । वडाले टोलविकास समितिको अवधारण अघि सारेर विकासको कामलाई थप सहज बनाएको छ । साथै सुचना प्रवाह गर्दा समेत वडाले टोलविकास समिति मार्फत गर्ने गरेको छ । वडाले सबैभन्दा पहिला टोल विकास समितिको र सार्वजनिक सुनुवाईको सुरुवात गरेको हो ।’ जेष्ठ नागरिक क्लव समेत गठन गरेको उनले बताए । शुुसासन र आर्थिक पारदर्शिताको सवालमा यो वडाले आफ्नो अलग्गै पहिचान बनाएको उनको भनाई छ ।
दिर्घकालिन योजनाका सन्दर्भमा कालपृष्ठासंग कुरा गर्दै उनले भने,–‘हामीकहाँ दिर्घकालिन योजना के छन्, भनेर भन्दापनि हामीले आजसम्म गरेका कामकै कारण वडामा दीर्घकालीन विकासको आधार स्तम्भ तयार भएको छ । अवका दिनमा यिनै आधारमा टेकेर काम गर्न सक्ने हो भने थुपै्र कामहरु गर्न सकिन्छ । हामीले विकासको लागि एक खालको बाटो बनाईसकेका छौं । अव त्यसमा टेकेर विकासको बाटो हिन्न मात्र बाँकी हो । तर, त्यसका लागि आवश्यक स्रोत र साधनको भने खाँचो पर्दछ ।’
वडाभित्रका हरेक कुराको तथ्य–तथ्याङ्कमा अब्बल बन्ने प्रयास वडाले प्रयास गरिरहेको छ । त्यसका लागि आवश्यक कामहरुको सुरुआत समेत गरिसकेको रिजाल बताउँछन् । विकासको परिभाषालाई फराकिलो बनाउदै, अवका दिनमा वडाले भौतिक विकासमा पनि थुप्रै कामगर्ने योजना बनाएको छ । यसका साथै सिपविकास तथा रोजगार मुलक कार्यक्रम सन्चालन, बढ्दो दुव्र्यशनीलाई मध्ये नजर गर्दै सबै क्षेत्रमा नतिजा मुखी काम गर्ने वडाले परिकल्पना गरेको छ ।
अवका दिनमा वडाले गर्ने जुनसुकै विकासका काममा जनअपेक्षा अनुरुप उनीहरुको सल्लाह र सुझावलाई ध्यानमा राखेर काम गर्नुपने आवश्यकता रहेको स्थानिय विश्वनाथ संगमटोल विकास समितिका अध्यक्ष बासु गौतम बताउँछन् ।
‘कतिपय कुरामा हामीले देखे–भोगेका कुरामा स्थानीय सरकारको ध्यान पुग्न सकिरहेको हुदैन । यसकारण विकासका काममा स्थानीयसँग पनि हातेमालो, समन्वय र सहकार्य गर्न सक्यो भने राम्रो हुन्छ ।’