अभावका विच गुणस्तरलाई बरकरार राखेको धम्बोझी मावि
Saturday, May 13th, 2023, 9:47 pm
Kalpristha
शैक्षिक गुणस्तर मापन केन्द्रले देशभरका चार हजार सामुदायिक विद्यालयमा गरेको सर्वेक्षण अनुसार यो विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय हो भने, उत्कृष्टताका आधारमा देशभरमा २० औं स्थानमा पर्छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २९ वैशाख
२०१४ सालमा स्थापना भएको थियो धम्बोझि उच्च मावि नेपालगन्ज । नेपालगन्जको इतिहाससँग जोडिएका केहि सिमित विद्यालय छन, त्यसमा धम्बोझी अग्रपंक्तिमा आउने नाम हो । जुन अहिले पनि जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा परिचित छ । तत्कालिन अवस्थामा कक्षा तिनसम्म पढाई सुरु गरिएको थियो धम्बोझीमा । अहिले बालविकास देखि कक्षा १२ सम्मको पढाई हुन्छ । यस विद्यालयमा विज्ञान, शिक्षा, व्यवस्थापन तथा कानुन समुहका विषयहरु पढाई हुनुका साथै प्राविधिक तर्फ भने कम्प्युटर ईन्जिनियरिङ्गको समेत पढाईहुन्छ ।
जहाँ बाँके, बर्दिया मात्रै नभएर कर्णाली प्रदेका विभिन्न जिल्लाबाट समेत विद्यार्थीहरु पढ्न आउने गरेको बताउँछन् प्रधानाध्यापक बामदेव सुवेदी । धम्बोझी विद्यालयमा अहिले तिन हजार भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् । विद्यालयको माविमा ४ जना, निमाविमा ४ जना, प्राविमा १३ जना र उच्च माविमा ४ जना शिक्षक दरबन्दी छ, भने २६ जना शिक्षक निजि श्रोतबाट राखिएको छ । कुनैबेला विद्यार्थी माग्न घर–घरमा जानुपर्ने स्थितीलाई सम्झदैं प्रधानाध्यापक सुवेदी भन्छन्,–‘हामीले थुप्रै कुराको अभावका विचमा पनि शैक्षिक गुणस्तरलाई बरकरार राखेका छौं । त्यसैको फल होला, गतवर्षको एसईईको परिक्षामा बाँके जिल्लामै सामुदायिक विद्यालयतर्फ प्रथम भएको थियो ।’
कमजोर विद्यार्थीका लागि ‘क्याच क्लास सन्चालन’ सन्चालन हुन्छ । यहाँ बालक्लब छ । जसले यहाँहुने विभिन्न अतिरिक्त क्रियाकलाप सन्चालन गर्ने गर्छ । खेलकुदका सवालमा राष्ट्रपति रनिङशिल्ड अन्तरगत सन्चालन हुने सबै प्रकारका खेलमा सहभागिता गरिरहेको हुन्छ । शैक्षिक गुणस्तर मापन केन्द्रले देशभरका चार हजार सामुदायिक विद्यालयमा गरेको सर्वेक्षण अनुसार यो विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय हो भने, उत्कृष्टताका आधारमा देशभरमा २० औं स्थानमा पर्छ ।
धम्बोझीमा शिक्षक, विद्यार्थी र अभिभावकहरुको त्रिकोणात्मक तथा समन्वयात्मक सम्बन्ध राम्रो भएकै कारण आफ्नो विद्यालयले जिल्लामा मात्रै नभई देशमै आफ्नो अलग पहिचान बनाउन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाराज उपाध्याय बताउँछन् । विद्यालयले कुनैपनि परिस्थितीमा गुणस्तरिय सेवा दिने कुरामा जोड दिंदै अध्यक्ष उपाध्यायले अबका दिनमा पनि उत्कृष्ट शिक्षाका लागि उपयुक्त भौतिक संरचना र आवश्यक शिक्षकको व्यवस्थापनमा आफ्नो जोड रहने उनले बताए ।

…………….
आवश्यकताका विच समस्याका चाँङ
विद्यालयको आफ्नै पहिचान र शैक्षिक गुणस्तर हुँदा हुँदै पनि विद्यालय थुप्रैं समस्याहरुबाट टाढा भने छैन । किनभने विद्यार्थीको चाप हेर्ने हो भने, यथास्थितीमा विद्यालय चल्नसक्ने अवस्था छैन । यहाँ प्रर्याप्त कक्षाकोठा र शिक्षकहरु छैनन् । शिक्षकले माईक प्रयोग गरेर पढाउनुपर्ने अवस्थाका बारेमा बताउँदै प्रधानाध्यापक सुवेदी भन्छन्,–‘नेपालगन्ज उप—महानगरपालिकाले अहिलेसम्म यस विद्यालयको शैक्षिक उन्नयनका लागि एक पैसा पनि खर्च गरेको छैन । नत, विद्यालयको आफ्नै र प्रर्याप्त भवन तथा कक्षा कोठा नै छन् । यस्तो परिस्थितीमा हामी कहिलेसम्म चल्ने । अनि, विद्यार्थी भर्ना गर भनेर फोन का फोन उनै जनप्रतिनिधिले गर्छन् । जसले शिक्षामा लगानी गर्नुपर्छ भन्ने कुरा सोचेकै छैन । यो कुनै व्यक्तिलाई भन्दा पनि स्थानीय सरकारप्रतिको गुनासो हो ।’
‘कक्षा कोठाको संख्या नबढाई भएकै छैन । सोहि अनुसार शिक्षक चाहियो । विद्यार्थी संख्या अनुसार स्थानीय सरकारले अनुदान दिन प-यो ।’ शिक्षामा गरेको लगानिको प्रतिफल ढीलो आउने तर, सटरमा गरेको लगानिको भाडा छिटो उठ्ने र प्रतिफल पनि चाँडै मिल्ने भएर स्थानीय सरकारले बढी लगानी पनि सटर बनाउन मै गरेको उनको गुनासो थियो ।
विद्यालय छेउमा भएको चिल्ड्रेनपार्कको करिब एक विगाहा जग्गा विद्यालयको स्वामित्वमा आउन जरुरी भएको भन्दै प्रधानाध्यापक सुवेदी भन्छन्,–‘ तत्कालिन अवस्थामा त्यो चिल्ड्रेनपार्क नबनाउन हामीले कत्ति अनुरोध गरेको हो । त्यो जग्गा विद्यालयको भएको भए, हामीलाई १२ करोड रुपैंया बराबरको बजेटका कार्यक्रम आउने थिए । तर, तत्कालिन मेयर धवल सम्शेर राणाले मान्दै नमानेर पार्क बनाउनु भयो । सो चिल्ड्रेनपार्क अहिले नशा खाने थलो भएको छ ।’