वन अधिकृत विष्णुकान्तलाई भ्रष्टाचारको आरोप
Saturday, May 13th, 2023, 9:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० बैशाख
मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय, सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र माथी भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरिएको छ । सहायक जिल्ला वन अधिकृत मिश्रले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।
मिश्रले पदमा बहाल रहँदा गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा उनको सेवा प्रवेश गरेको मिति २०३६–११–१० देखि मिति २०७०–०८–१६ सम्मको अवधिमा जम्मा आय आर्जन ९६ लाख ६८ हजार ५७.७९ रूपैयाँ मध्ये खर्च तथा लगानी (व्यय) १ करोड ६९ लाख २० हजार पाँच सय ३८.३८ रूपैयाँ घटाउँदा हुन आउने ७२ लाख ५२ हजार चार सय ८०.५९ रूपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा उजुरी निवेदन पुष्टि हुन आएको आरोप पत्रमा उल्लेख छ ।
मिश्र उपर ७२ लाख ५२ हजार चार सय ८०.५९ रूपैयाँ बिगो कायम गरीएको छ । साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा मिश्रलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुनुपर्ने आरापपत्रमा बताईएको छ ।