खजुराको २ नम्बर वडामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
Saturday, May 20th, 2023, 8:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ६ जेठ
बाँकेको खजुरा गाउँपालिका–२ स्थित वडा कार्यालयमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ‘स्वस्थ नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ गरिएको स्वास्थ्य शिविरमा ४ सय ११ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको आयोजना, खजुरा गाउँपालिका र खजुरा गाउँपालिकाको वडा नम्बर २ को समन्वयमा शिविरको आयोजना गरिएको थियो ।
पश्चिम नेपालमा पहिलो पटक निजी क्षेत्रबाट १५ शैयाको आयुर्वेद अस्पतालको स्थापना गरेको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले बाँकेका विभिन्न स्थानमा निःशुल्क रुपमा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।
शनिबार खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले शिविरको उद्घाटन गरेका थिए । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख प्रशासकिय अधिकृत प्रभाकर मिश्रले संचालन गरेको कार्यक्रमको अध्यक्षता हस्पिटलका प्रमुख एवम् संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले गरेका थिए ।
उद्घाटन समारोहमा पुर्व संघीय मन्त्री एवम् नेपाली कांग्रेस बाँकेका पुर्व पार्टी सभापति गजेन्द्र हमाल, पुर्व मन्त्री एवम् ओलम्पियन सुरेन्द्र बहादुर हमाल, नेपाली कांग्रेस बाँकेका पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, २ नम्बर वडा अध्यक्ष धनीराम ओली लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले खजुराको २ नम्बर वडामा गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरले जनताको स्वास्थ्य स्तर सुधार गर्नमा सहयोग गर्ने बताए । मानिसहरुलाई पछिल्लो समय धेरै रोगहरु लाग्ने समस्या बढिरहेको बेला अब आयुर्वेद उपचार पद्धती नेपालको लागि उपयुक्त हुने बताउँदै खजुरा गाउँपालिकामा यस्ता शिविरलाई निरन्तरता दिने उनले बताए । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख एवम् संविधान सभा सदस्य बाल्मिकीले आयुर्वेद आधुनिक समाजमा जनताहरुको स्वास्थ्य अवस्थालाई सुधार गर्न निकै फलदायी भएको बताए । आयुर्वेदको उपचार सेवालाई आम नागरिकले विश्वास गर्न लागेको भन्दै अब स्तरीय आयुर्वेद सेवाको आवश्यकता बढिरहेको बताए ।
शिविरमा आएका बिरामीहरुलाई डा. शिवराज सुवेदी, डा. मनोज यादव, डा. प्रतिक्षा केसी गौतम, खजुरा गाउँपालिका नागरिक आरोग्य केन्द्रका प्रमुख कविराज किरण खनालले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनीराम ओली, सचिव तारा प्रसाद अधिकारी, कालपृष्ठ दैनिकका कार्यकारी सम्पादक कमल खत्री , नेपालगन्ज आयुर्वेद जनरल हस्पिटका कर्मचारी रागिनी थारु, विकास कुसारी, विकास पाण्डे, लक्ष्मी सलामी मगर, केशव केसी, सन्जिव थारु, सम्झना थारु, पदमा थापा लगायतले सहयोग गरेका थिए ।

…………….

……………

……………..