नक्कली आयुर्वेद क्लिनिङको बिगबिगी
Saturday, May 20th, 2023, 9:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ जेठ
बाँकेको विभिन्न ठाउँमा गैरकानुनी रुपमा आयुर्वेद औषधीहरुको बिक्री वितरण गरेको पाइएको छ । बाँके लगायतका पश्चिम नेपालका विभिन्न सहरमा ग्यारेन्टीका साथ उपचार गरिन्छ भन्ने देखि लिएर अन्य थुप्रै भ्रम सृजना गर्ने प्रचार गर्दै आयुर्वेदको उपचार गर्ने भन्दैं ब्यानर र पम्प्लेट टास्ने गरिएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर–३ स्थित किरण नाला पुल नजिकै एउटा ब्यानर टांगेर आयुर्वेद पसल राखिएको छ । जुन भारतीय अक्षरमा ब्यानर लेखेर गुप्त रोग लगायत अन्य थुप्रै रोगको उपचार गर्ने भनेर लेखिएको छ ।
‘अश्वनी आयुर्वेदिक खानदानी दवाखाना’ लेखिएको ब्यानरमा अनुभवी बैद्यबाट विभिन्न रोगको उपचार गर्ने भनेर लेखिएको छ । यसरी ब्यानर राखेर आयुर्वेद उपचार गर्ने भनेर टागिएको ब्यानर प्राय हरेक वर्ष भारतबाट आउने मंगन्ता जातीका मानिसहरुले प्रचार गरेको देखिन्छ । उनीहरुले नेपालको कुनै पनि निकायमा आधिकारिक रुपमा अनुमति लिएका हुँदैनन ।
प्रायः हिउँदको समयमा उनीहरुले विभिन्न पेशा गर्ने क्रममा आयुर्वेदको उपचार पनि गर्ने भनेर प्रचार गर्ने गरेका हुन्छन् ।
खजुरा गाउँपालिका नागरिक आरोग्य केन्द्रका प्रमुख कविराज किरण खनालले यसरी कुनै अनुमति नलिई खुला रुपमा आयुर्वेद मार्फत उपचार गर्ने भनेर प्रचार गर्दा वास्तविक आयुर्वेदकर्मीलाई असर पर्ने गरेको बताउँछन । नेपालगन्ज लगायतका विभिन्न ठाउँमा भारत रुपैंडिहाको जनसेवा क्लिनिक लगायतका अन्य थुप्रै कम्पनीले पनि अवैध रुपमा बिना अप्रेशन १०० प्रतिसत रोगको उपचार गर्ने भन्दै प्रचार गरिरहेको छन् । जसलाई रोक्नमा कुनै पनि निकायले पहल गरेको छैनन् ।
एक महिना अघि आयुर्वेदसँग सम्बन्धित विभिन्न संघ–संस्थाले जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई आयुर्वेदको नाममा अनुमति नलिई खुला रुपमा काम गरिरहेको व्यक्ति र भारतीय क्लिनिकहरुलाई बन्द गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । तर त्यसको सुनवाई भने भएको छैन् ।