चलचित्र पत्रकार संघ बाँकेको दोस्रो वार्षिक उत्सव सम्पन्न
Saturday, May 20th, 2023, 9:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज ६ जेठ
चलचित्र पत्रकार संघ, नेपाल बाँके शाखाको दोस्रो वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार एक औपचारिक समारोहका विच चलचित्र पत्रकार संघ, नेपाल बाँके शाखाको दोस्रो वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले चलचित्र पत्रकारिताले मोफसलमा नयाँ विधा ल्याएको बताए ।
नेपाली चलचित्र र पत्रकारिताको ईतिहासलाई सम्झँदै उपाध्यक्ष चौलागाईले चलचित्र क्षेत्रका लागि खटिएका व्यक्तिहरूको कथा र उनिहरुको आरोह–अवरोहलाई पत्रकारले उठान गर्न आवश्यक रहेको बताए ।
विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले संघले नेपाली चलचित्र र कलाका क्षेत्रमा गरेको कार्य सराहनीय रहेको उल्लेख गरे ।
यस्तै वरिष्ठ कलाकार श्यामानन्द सिंह तथा निर्देशक कैलास प्रवीणले चलचित्रका क्षेत्रमा आफूहरूको समय, सुरूवात र तत्कालिन अवस्थाका बारेमा सुनाएका थिए ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बाँकेमा चलचित्र विद्यामा कलम चलाउने कार्यलाई निरन्तरता दिएकोमा धन्यवाद दिए । उनले कलाकारको जमघट, चलचित्र प्रतिको जागरुकता र सक्रियतालाई पर्यटनसँग जोडनुपर्ने बताउँदै अध्यक्ष ओलीले यहाँका विभिन्न ठाउँमा रहेका छायांकन स्थलहरूको प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताए ।
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायाले पछिल्लो समय संघको क्रियाशीलता निकै बढेको भन्दै संघ एकीकृत रूपमा अघि बढेको धारणा राखे ।
क्रियाशील महिला पत्रकार संघ बाँकेका अध्यक्ष सावित्री गिरीले चलचित्र विद्या मनोरञ्जनको विद्या हुनुका साथै कला र संस्कृति भएको बताईन् । बागेश्वरी सिनेमाजका प्रबन्धक सञ्जिव शाक्यले संघको साथ सहयोग अतुलनीय रहेको बताउँदै संघको सकृयताले दर्शकहरु सिनेमा घरमा आउने थालेको धारणा राखे ।
दुई जनालाई सम्मानित
यसैविच कलाक्षेत्रमा योगदान पु¥याएका बाँकेका दुई जनालाई सम्मान गरिएको छ ।
संघले वरिष्ठ निर्देशक कैलाश प्रवीण तथा चलचित्र पत्रकार ज्ञानुसंगम खड्कालाई सम्मान गरेको हो ।
संघले नेपालमा पहिलोपटक नेपाली गीतलाई क्यासेट मार्फत बजारीकरण र नेपालमा पहिलो अवधि भाषाको चलचित्र निर्देशन गरेको भन्दै निर्देशक प्रवीणलाई विशेष सम्मान गरेको हो ।
‘अभागिन बनी सुहागन’ नामको चलचिन निर्देशन गरेका प्रविणलाई चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले सम्मान गरेको हो ।
उक्त चलचित्र नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । चलचित्र पत्रकार संघ नेपालको २४ औं स्थापना दिवस र बाँके शाखाको दोस्रो वार्षिक उत्सव समारोहमा प्रविणलाई विशेष सम्मान गरीएको चलचित्र पत्रकार संघ बाँकेले जनाएको छ । उनले पहिलो अडियो गीत व्यवसायिकरणसँगै चलचित्र तथा कला क्षेत्रमा पु-याएको योगदानको चर्चा गरिएको थियो ।

…
यसैगरि पत्रकारिताको माध्यबाट नेपाली चलचित्र तथा कला क्षेत्रमा पु-याएको योगदानलाई मूल्यांकन गर्दै पत्रकार खड्कालाई दुई हजार एक सय रुपैयाँ नगदसहित कदर पत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेल, विशिष्ट अतिथि नेपाल पत्रकार महासंंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी लगातयले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रमा संघका उपाध्यक्ष समीरमान श्रेष्ठले स्वागत गरेका थिए, भने सह–सचिव लक्ष्मी तिमिल्सेनाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

….