६ स्थानीय तहमा स्थानीय पाठ्यक्रम
Sunday, May 21st, 2023, 6:36 pm
Kalpristha
लिलाधर वली
दाङ, ७ जेठ
दाङका ६ स्थानीय तहले आफनै पाठ्यक्रम निर्माण गरेर लागु गरेका छन् । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले पालिकाहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयन ल्याएका हुन ।
दश स्थानीय तहहरुमध्ये पाँच वटा स्थानीय तहले स्थानीय पाठ्यक्रम पढाउँदै आएका छन् भने अन्य स्थानीय तहहरु पनि पाठ्क्रम निर्माणको तयारीमा रहेका छन् । स्थानीय पाठ्क्रम निर्माण गरेर घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई पढाउँदै आएका छन् ।
जिल्लामा सवैभन्दा पहिले तुलसीपुर उपमहानगरपालिकाले २०७८ मा ‘हाम्रो तुलसीपुर’ स्थानीय पाठ्क्रम निर्माण गरेर पठनपाठन सुरु गरेको थियो भने अन्य पालिकाहरुले गत बर्षदेखि लागु गरेका हुन । दुई बर्षअघि नै स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन गराउँदै आएको तुलसीपुर उप–महानगरपालिकाले चालु शैक्षिकसत्रमा कक्षा ४ देखि ८ कक्षासम्मका विद्यार्थीहरुका लागि स्थानीय पाठ्यक्रम अनुसार पुस्तक नै तयार गरेर पढाउन थालेको तुलसीपुर उप–महानगरपालिका शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले बताए ।
उनका अनुसार कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरुका लागि पुस्तक तयार भैइसकेकाले वितरणको तयारीमा रहेको बताए । महाशाखा प्रमुख भण्डारीले भने,‘तुलसीपुरमा दुई बर्षअघि नै हामीले स्थानीय पाठ्क्रम लागु गरेका थियौ । तर पुस्तक बनाउन सकेका थिएनौ । जस्ले गर्दा पठननपाठनमा समस्या हुने गरेको थियो । त्यही कारण अहिले पुस्तक तयार गरेर विद्यार्थीलाई बाड्ने तयारीमा छौ ।’ उनका अनुसार स्थानीय पाठ्यक्रमको उद्देश्य बालबालिकालाई स्थानीय धर्म, भाषा, संस्कृति, रितीरिवाज, जातजातिसँगै भूगोल, सम्पदा, पर्यटन, सीप तथा रोजगारको विषयमा जानकारी गराउनु हो ।
तुलसीपुर जस्तै राजपुर गाउँपलिकाले पनि स्थानीय पाठक्रम लागु गरिसकेको छ । स्थानीय पाठ्क्रमलाई प्रभावकारी बनाउनका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम समेत लागुगर्ने तयारीमा रहेको राजपुर गाउँपालिकाले स्थानीय पाठक्रम अनुसार पुस्तक छाप्नका लागि तयारी गरेको राजपुर गाउपालिका शिक्षा शाखा अधिकृत केशव लम्साल बताउँछन् । कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीलाई स्थानीय पाठ्यक्रम अनुसार पढाउने काम गरेपनि पुस्तक बनाउन नसकेको बताए । उनले स्थानीय विषयवस्तु झल्कने कला,सस्कृति, धार्मिक अवस्था, प्राकृतिक सम्पदालगायतका समग्र विषयलाई समेटेर ‘हाम्रो राजपुर’ पुस्तक बनाउने तयारीमा लागेको बताउँछन् ।
शाखा अधिकृत लम्सालले भने,‘स्थानीय पाठ्यक्रम बनाएर पठाउने काम गर्दै आएका छौ तर पुस्तक बनाउन सकेका छैनौ । यस बर्ष हाम्रो ध्यान पुस्तक बनाउनेमा रहेको छ ।’ राप्ती गाउँपालिका,शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिकाले पनि स्थानीय पाठ्क्रम अनुसार पठनपाठनलाई गतबर्षदेखि नै अघि बढाईसकेका छन् भने घोराही उप–महानगरपालिकाले यसै शैक्षिकसत्रदेखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ ।
लमही नगरपालिका, दंगीशरण गाउँपालिका, गढवा गाउँपालिका र बबई गाउँपालिकाले भने स्थानीय पाठक्रम निर्माणको क्रममा रहेको बताएका छन् । स्थानीय पाठक्रम निर्माणका लागि गाउँपालिकाले वडा तहमा मस्यौदामाथि छलफल गरेर कार्यपालिकामा छलफलको तयारी भैरहेको दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले बताए ।
शाखा प्रमुख अधिकारीले भने,‘कार्यापालिकामा छलफल गरेर सवैको सहमति भयो भने ढिलै भएपनि यसै शैक्षिकसत्रदेखि लागुगर्ने तयारी गरेका छौ ।’ गढवा गाउँपालिकाले पनि स्थानीय भुगोल, संम्पदा, धर्म, संस्कृतिलगायतका समग्र अवस्थालाई समेटेर पाठ्क्रम निर्माणको अन्तिम चरणमा रहेपनि पाठ्यक्रमलाई पूर्णता दिन नसक्दा विद्यालयमा पठपाठन गराउन नसकिएको गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्यामबहादुर विक बताउँछन् ।
गढवा गाउँपालिका शाखा प्रमुख विकले भने, ‘हामी स्थानीय पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छौ ।’ सवैको सहमतिमा पाठ्यक्रम तयार गरेर सकेसम्म यहि बर्षदेखि नै लागु गर्ने तयारीमा रहेको बताए । स्थानीय विषयवस्तुका बारेमा विद्यार्थी जानकारी दिने उद्देश्यले जिल्लाका अधिकांस स्थानीयले पठनपाठन गराउने गर्दै आएका छन् ।