अत्याधुनिक उपकरण सहित भेरीमा सुरु भयो न्युरो सेवा
Monday, May 22nd, 2023, 9:47 pm
Kalpristha
न्युरो सेवा नियमित हुँदा न्युरोका बिरामीको बहिरंग सेवा तथा शल्यक्रिया मार्फत पश्चिम नेपालका विभिन्न जिल्लाबाट आउने बिरामीले सेवा लिन सक्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ जेठ
अत्याधुनिक उपकर भित्राउँदैं भेरी अस्पताल नेपालगन्जले न्युरो सेवालाई नियमित गरेको छ । भेरी अस्पतालमा विशेषज्ञ न्युरो सेवा सुरु भएसँगै अस्पतालमा बिरामीको संख्या बढन् थालेको छ । अस्पतालमा करिब तिन वर्ष अघिदेखि नै न्युरो सम्बन्धि सेवा दिने कार्यको सुरुआत गरिएको थियो । तर आवश्यक पर्ने उपकरण अभावमा सेवा नियमित हुन सकेको थिएन ।
अस्पतालले नयाँ अत्याधुनिक उपकरण भित्राएसँगै करिब दुई हप्ता अघिबाट पुन: भेरीमा न्युरो सेवा नियमित सुचारु भएको थियो । भेरी अस्पतालमा कन्सल्टेन्ट न्यूरो सर्जन डा.अञ्जन सिंह कार्की र डा.सुवोध गौतमको टिमले यस सम्बन्धि सेवा दिईरहेको छ ।
भेरीमा अब टाउँकोमा गम्भिर चोट लागेको, मतिष्कमा रगत जमेको,ब्रेन ट्युमर, मेरुदण्डको नसा च्यापिएको लगायतका सेवा नियमति रुपमा सुरु गरेको बताउँछन् भेरी अस्पतालका कार्यालय प्रमुख (मेडिकल सुपरिन्टेन्डेण्ट) डा. बद्री चापगाई ।

………..
न्युरो सेवा नियमित हुँदा न्युरोका बिरामीको बहिरंग सेवा तथा शल्यक्रिया मार्फत पश्चिम नेपालका विभिन्न जिल्लाबाट आउने बिरामीले सेवा लिन सक्ने अवस्था रहेको अस्पतालले जनाएको छ । हाल दैनिक जसो करिव ४० भन्दा बढीले न्युरो सम्बन्धि सेवा लिईरहेको कन्सल्टेन्ट न्यूरो सर्जन डाक्टर कार्की बताउँछन् । कार्कीले भने, ‘म आएको चार महिना भयो । पहिले यहाँ आउने बिरामीलाई अन्त पठाउनुको विकल्प थिएन । तर, अहिले हामीकहाँ नै बिरामी रेफर भएर आईरहेको अवस्था छ ।
अहिले त हप्तामा हामीले ४ वटासम्म शल्यक्रिया समेत गरिरहेका छौं । स्थानीय स्तरमा हामीले यसबारे जानकारी दिन सक्यौं भने, हामी धेरैलाई सस्तो र गुणस्तरिय स्वास्थ्य सेवा दिन सक्छौं ।’ भेरी अस्पतालको १५ शैयाको आईसियु वार्डमा अहिले आठ जना न्युरो सम्बन्धिका बिरामी हुने गरेको उनले बताए ।
एकाध समस्या बाहेक अन्य सबै शल्यक्रिया भेरीमै गर्न सकिने डा.सुबोध बताउँछन् । न्युरो सम्बन्धि शल्यक्रिया महँगो भएपनि निजि अस्पतालमा भन्दा धेरै सस्तो भएको बताउँदै डाक्टर सुबोध भन्छन,‘हामी कहाँ करिब पाँच गुणा कम मूल्यमा शल्यक्रिया भइरहेको छ । त्यही शल्यक्रिया प्राइभेटमा गर्नुपर्र्यो भने एक डेढ लाख रुपैयाँ बिरामीले तिर्नु पर्छ । तर, भेरीमा केवल २० हजार रुपैयाँमै शल्यक्रिया हुन्छ ।’
पछिल्लो पटक न्यूरो सेवाका लागि ड्रिलसेट उपकरण जडान समेत भएको छ । जापानबाट भित्र्याईएको यो उपकरण न्यूरो सर्जरीका लागि अत्यन्तै स्तरीय र उपयोगी उपकरण मानिन्छ । पश्चिम नेपालमा न्युरो सम्बन्धि उपचार हुन नसक्दा लुम्विनी र कर्णाली प्रदेशका सबै बिरामीहरु काठमाण्डौ र भारतका विभिन्न शहरमा जानुको विकल्प थिएन ।
यस अघि यहाँका विरामी लखनउ वा काठमाण्डौ जहाँ गएपनि प्रभावकारी उपचार पाउने कुरामा निक्कै समस्या रहेको उल्लेख गर्दै डा.कार्की भन्छन्,‘यस प्रकारको स्वास्थ्य समस्या सबैभन्दा गम्भिर प्रकारको समस्या हो । न्युरो सम्बन्धि उपचार सेवामा पैसा भन्दा पनि समयको बढी महत्व हुन्छ । बिरामीलाई समयमै उपचार गर्न सकिएन भने ज्यान जानपनि सक्छ र समयमै उपचार पाएको खण्डमा पक्षघात भएको बिरामी मुस्कुराउँदै घर फर्किन सक्छ । यसकारण यहाँ आवश्यक परामर्श र शल्यक्रिया दुवै हुने भएपछि यो क्षेत्र स्वास्थ्य सेवामा एक कदम अघि बढेको छ ।’
अबका दिनमा अस्पतालले शल्यक्रिया कक्षको स्तरिकरण, थप आवश्यक उपकरणको व्यवस्थापन, पर्याप्त जनशक्तिको व्यवस्थापन र ‘डेडिकेटेड न्युरो आईसियु’को व्यवस्था गर्नसके यसक्षेत्रमै उत्कृष्ट र प्रभावकारी सेवा दिनसक्ने कार्की बताउँछन् । कार्कीले, ‘हामीकहाँ अहिले अनि आधा भन्दा धेरै आईसियुमा न्युरो सम्बन्धिका विरामी छन् । अव बर्षायाम सुरुहुने वित्तिकै सर्पदंशका विरामी बढ्ने छन् । त्यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्ने ? त्यसकारण पनि यस अस्पताललाई ‘स्ट्रोक सेन्टर’का रुपमा विकास गर्न जरुरी छ ।’