एन्फाले लिगप्रति देखाएको उदासिनता
Tuesday, May 23rd, 2023, 9:29 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, ९ जेठ
एन्फाले लिगप्रति देखाएको उदासिनताले चालू सिजनको ए डिभीजन लिग दिनानु दिन फितलो बन्दै गएको छ । लिगमा उत्कृष्ट खेलाडीको अभाव र दर्शकको न्यून आगमनले खेलको स्तरमाथि नै प्रश्न उठेको छ । थ्रीस्टार, मनाङ, मछिन्द्र, आर्मीको खेलमा विगतमा उल्लेख्य संख्यामा दर्शकहरु दशरथ रंगशालामा आउने गर्दर्थे । यस सिजनमा भने दर्शकको पातलो उपस्थितिकै कारण लिग फुटबलमय बन्न सकेको छैन् ।
त्यसो त, लिगेसी बोकेका क्लबहरुले स्टार खेलाडी जोगाउन नसक्दा पनि रंगशालामा समर्थकहरुबिचमा उत्साह देखिदैन् । सांस्कृतिक बाजा गाजासहित रंगशाला आउने गरेका संकटाका ऊर्जावान प्रशंसकहरुको सहभागितामा पनि शनैः शनैः कमी आउँदै गरेको देखिन्छ । रेलिगेशन क्षेत्रबाट केही माथि रहेको संकटालाई अहिले प्रशंसकको भन्दा पनि जितको आवश्यकता बढेर आएको छ ।
शीर्ष डिभिजनको फुटबल त्यसमा पनि दोस्रो राउण्डको महत्वपूणर् खेलहरु चलिरहँदा पनि लिगले लय समात्न सकेको छैन् । पछिल्ला लिगको तुलनामा यस पटकको लिग हरेक दृष्टिकोणले खल्लो बनेको छ । आयोजक एन्फाले अझै सम्म प्रतियोगिताको मुख्य प्रायोजक जुटाउन सकेको छैन् । लिगेसी बोकेका क्लबहरुले समेत मुख्य प्रायोजकबिना खेलिरहेका छन् । आधुनिक फुटबल सम्भवतः व्यावसायिक फुटबलमा विश्वास राख्दछ । फुटबल व्यावसायिक बन्न व्यावसायिक खेलाडी भित्र्याएर मात्र पुग्दैन् ।
फुटबल हाक्ने पदाधिकारीहरु पनि व्यावसायिक बन्न जरुरी छ । कम्तिमा यत्तिको हैसियत निर्माण गर्नसके मात्र नेपाली फुटबलले फडर्को मार्न सक्छ । जसको उदाहरण स्वरुप भुटान र अफगानिस्तानको फुटबललाई लिन सकिन्छ । यसततर्फ भने नेतृत्व पंक्ति अजान बनेको देखिन्छ ।
खासमा नेपाली फुटबलको गर्भिलो इतिहास बोकेको सहिद स्मारक ए डिभीजन लिगले नेपाली फुटबलको गरिमालाई नजरअन्दाज गर्न नसक्दा लिगको सफल आयोजनामा कमी आएको अनुभूति भएकै हो । यावत कारणलाई निहाल्दा लिगको वर्चश्वलाई उजागर गर्न यस पटक एन्फा व्यवस्थापन कतै न कतै चुकेको हो कि भन्ने धेरैलाई लागेको हुन सक्छ ।
डबल लिगको स्वरुपमा संचालन भइरहेको शीर्ष डिभिजनको लिगप्रति खेलाडीहरुको आकर्षण बढ्नुको साटो वितृष्णा बढ्दै गएको देखिन्छ । लिग चलिरहँदा विभिन्न कारण देखाई राष्ट्रिय खेलाडीहरु विदेशिएका छन् । त्यो क्रम लिगको समाप्तिपछि पनि जारी रहने अध्ययनले देखाएको छ । किन युवा पुस्ता फुटबलमा भविष्य देख्दैनन् ? फुटबल खेलेर जीवन निर्वाह गर्नसक्ने हैसियत बनाउन के कुराले वञ्चितीकरण गरिरहेका छ ? यी अनुत्तरित प्रश्नहरुले हामी सबैलाई प्रश्न गरिरहेका छन् ।
लिगको खस्कदो स्तरले फुटबलको धायरालाई अवश्यक पनि साँघुरो र संकुचित बनाउँछ । लिग रोकिँदा पनि नेपाली फुटबलको स्तरमाथि प्रश्न गर्ने ठाउँ थिएन् । अहिले लिग चलिरहँदा भने लिग आयोजनामाथि थुप्रै प्रश्नहरु उठिरहेका छन् । एन्फा पदाधिकारीहरु स्वयँ हाल संचालित लिगको स्तरलाई लिएर चिन्तित देखिन्छन् । नाम उल्लेख नगर्ने शर्तमा एक एन्फा पदाधिकारी भन्छन्, ‘अवस्था धेरै गाह्रो भइसकेको छ । यही स्थिति रहिरहयो भने हामी पदमा बसेको केही अर्थ रहन्न ।’ धेरै कुरामा सुधार गर्न आवश्यक रहेको उनले दाबी गरे ।
लिग खेलिरहेका १४ वटा ए डिभीजन क्लबहरुलाई व्यस्त तालिकाले क्लबको व्यवस्थापनमा नकारात्मक प्रभाव पारेको बताइरहेका छन् । हप्तामा दुई खेल खेल्नुपर्दा खेलाडीहरुलाई पर्याप्त आरामको कमी देखिएको छ । हरेक तीन दिनमा खेल खेल्नुपर्दा खेलाडीहरु थकित भएका छन् । त्यसमाथि खेल दौरान घाइते हुने खेलाडीहरुलाई रिकभरीका लागि पर्याप्त समय नहुँदा क्लबको लागि टाउँको दुखाईको विषय बनेको छ । डबल राउण्ड रोबिनको आधारमा खेलाइने प्रतियोगिताहरु सप्ताहान्तमा खेलाइने प्रावधान हुँदा हुँदै जसरी पनि छिटो लिग सक्ने एन्फाको अव्यावहारिक निणर्यले लिगको मर्ममाथि नै प्रहार भइरहेको छ । यस चालू सिजनको लिगलाई डबल लिगभन्दा पनि कम्प्याक्ट लिगभन्दा न्यायोचित होला ।
पछिल्लो समय कर्मा छिरिङ शेर्पाले संचालन गरेको लिग पनि विवादरहित रहेन । ठूलो शक्ति संघर्षले सत्ता आरोहण गरेका तत्कालीन एन्फा अध्यक्षले पनि कही कतै अभ्यास नभएको रेलिगेशन बिनाको लिग आयोजना गरेर आफनो कार्यकालको शुरुवाती समय आलोचनामै बिताए । सहकर्मीहरुको बाँचा बन्धनबाट घेरिएका शेर्पाले पहिलो सिजनको लिगलाई वार्म अप लिगको संज्ञा दिएर लटर पटर गरेरै सकाए । उनले प्रयोगमा ल्याएका रेलिगेशनबिनाको उक्त मोडेल वास्तवमै गैरजिम्मेवारीको पराकाष्ठा थियो । उनको त्यस दुःसाहसपुर्ण सोचले फुटबल वृत्तमा नराम्रो छाप छाड्यो ।
कुनै क्लब रेलिगेशनमा नपर्ने भएपछि क्लब र खेलाडीहरुबीच प्रतिस्पर्धा नै रहेन् । जसले खेल जगतमै नकारात्मक सन्देश पैदा गर्यो । उनकै कार्यकालमा भारतमा हुँदै आएको उच्च स्तरको भारतीय सुपर लिग (एनएसएल) लाई हुबहु फरम्याटमा नेपालमा भित्र्याए । नेपाली उच्च व्यापारी घरानासँग गोप्य सहमति गरेर संचालनमा ल्याएको उनले नेपाल सुपर लिग (एनएसएल) ले झण्डै- झण्डै सहिद स्मारक ए डिभीजन क्लबलाई सहिद बनाएनन् । यही प्रकरणले शेर्पा र ए डिभीजन क्लबका पदाधिकारीहरुबीच चिसोपन बढ्दै गएसँगै उनी एन्फा नेतृत्वबाटै बाहिरिन पुगे ।
किन अव्यस्थित बन्दैछ लिग फुटबल
यस वर्षको लिग पूर्व तयारी बिना संचालनमा आयो । एन्फाले लिग संचालनको लागि मुख्य प्रायोजक खोज्ने कसरत नगरेरै मिति घोषणा गर्दा विभागीय क्लबहरु आर्मी, एपीएफ, नेपाल पुलिसबाहेकका सामुदायिक क्लबहरु मनाङ, थ्रीस्टार, मछिन्द्र, एनआरटी, जावलाखेल लगायतका खेलाडीहरुले खेलाडीको नाम लिस्टको तयारी समेत गरेको थिएन । शुरुवातका दिनमा ठूला क्लबले स्टार खेलाडीहरु जोखाउन नसक्दा काठमाडौं केन्द्रित ए डिभीजन क्लबहरुले झापा, मोरङ, पोखरा, मकवानपुर, बुटवल लगायतका स्थानहरुबाट खेलाडीहरु झिकाएर टिम तयार पारेको देखिन्छ ।
एन्फाले जस्तै क्लबहरुले पनि पूर्व तयारी बिना लिगको लागि खेलाडी भित्र्याउने अवस्था आयो । कम्तिमा १६ खेलाडी दर्ता गरिसक्नुपर्ने भनी एन्फाले समय सीमा दिँदा, तोकिएकै समयमा राम्रा खेलाडी अनुबन्ध गर्न नसक्दा मोफसलमा खेलिने गोल्डकप प्रतियोगितामा झै खेलाडी ऐसेम्बल गरेर खेल्दा लिगको स्तर खस्क्नुको मुख्य कारण मान्न सकिन्छ ।
राम्रा राष्ट्रिय खेलाडीहरु अनुबन्ध गरेका क्लबहरुको पनि आफनो पीडाहरु छन् । उपाधि जित्ने उद्देश्यले टिम तयार गरेको ठूला क्लबहरु खेलाडीले बिचमै क्लब छाड्दा उनीहरुको लगानी र प्रदर्शनमा नराम्रो असर परेको छ । उपयुक्त पोजिशनमा उपयुक्त खेलाडीहरुको अभाव हुँदा खेलको तालमेल बिग्रन गई खेलको स्तरमा ह्रास आउनु अस्वभाविक होइन । यसले समग्र लिगको स्तरमै असर परेको कुरालाई सहजै आंकलन गर्न सकिन्छ ।
लिगको धेरै जसो खेल दिउँसो समयमा संचालन गर्दा खेलाडीहरुको स्वास्थ्यमा असर पारेको देखिन्छ । बैशाख-जेठको गर्मीको समय, त्यसमा पनि दिउँसो ३.०० बजेको प्रचण्ड गर्मीमा ९० मिनेट मैदानमा बिताउनु खेलाडीको लागि चुनौतीपुर्ण बनेको छ । यसरी हप्ताको दुई पटक खेल्नुपर्दा खेलाडीहरुमा फिटनेसको समस्या आएको देखिन्छ । गर्मी र वर्षामा भिजेर खेल्दा रुघा, खोकी, ज्वरोको कारण खेलाडीहरु शतप्रतिशत खेल्न सक्ने वातावरण नै रहन्न ।
यस्तोमा उनीहरुको प्रदर्शन फितलो हुने गर्छ । खेलाडीको प्रदर्शन फितलो हुनु भनेको लिगको आकर्षण घट्नु हो । लिगको आकर्षण घट्नु भनेको लिगको स्तरमाथि प्रश्न तेस्रनु हो । लिगको सेकेन्ड राउण्डमा आइपुग्दा एन्फा नेतृत्वले विराट जंग शाहीलाई लिग संयोजकको जिम्मेवारी दिएको छ । अन्तरमुखी स्वभावका शाही पूर्व राष्ट्रिय खेलाडीसमेत हुन् । उनले पद ग्रहण गरेसँगै लिगको शुरुवात जे जस्तो भएपनि अन्त्य भने सुखद हुने उनीबाट सबैले अपेक्षा राखेका छन् । जय नेपाली फुटबल ।