अब ३० बेडबाट सेवा दिदैं भेरीको इमरर्जेन्सी वार्ड
Wednesday, May 24th, 2023, 10:42 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, १० जेठ
पश्चिम नेपालको ठुलो अस्पताले भेरी अस्पतालको नयाँ भवनमा बनेको इमरर्जेन्सी कक्ष स्तरोन्नती तथा स्थानान्तरण गरिएको छ । बुधबार एक समारोहका बिच नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोख्ररेल, नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले संयुक्त रुपमा नयाँ इमरर्जेन्सी कक्षको उद्घाटन गरे । नयाँ भवनमा सरेको इमरर्जेन्सीमा अब ३० शैयाका पुगेको छ । यसअघि अस्पतालले पुरानो भवनमा रहेको इमरर्जेन्सीमा १५ बेड मार्फत सेवा दिइरहेको थियो ।
बुधबार उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै डा. रोशन पोख्ररेलले भेरी अस्पताललाई ३० बेड नभएर ५० बेडको इमरर्जेन्सी वार्डको आवश्यकता रहेको बताए । उनले भने,‘भेरी अस्पतालले पछिल्लो समय सेवासँगै भौतिक संरचनाको विकासमा पनि अगाडी देखिएको छ । यसमा थप विकास गर्दै लग्ने हो । भौतिक संरचनासँगै अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयबाट म सक्दो जनशंक्ति थप्न सहयोग गर्नेछु ।’
भेरी अस्पताल विकास समिति र अस्पतालका कर्मचारीबिचको समन्वयले थुप्रै राम्रो काम भएको डा. पोखरेलले बताए । उनले भने, ‘अस्पताल विकास समिति भन्ने बित्तिकै बितिष्णा जाग्ने गरेको छ । तर भेरी अस्पतालको टिम हेरेर हामीलाई खुसी लाग्छ । सबै पार्टी र सदस्यहरु मिलेर अस्पतालको विकासका लागि निकै मिहिनेत गर्नु भएको छ ।’
डा. पोख्ररेलले आमा सुरक्षा कार्यक्रम र मृगौला पिडितहरुको लागि डायलसिस मेशिन थप्नमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।, राजनितिक दलका नेता र आम नागरिकले नि:शुल्क स्वास्थ्य सेवाको बारेमा नबुझ्दा अस्पतालमा सेवा दिन स्वास्थ्यकर्मीलाई अप्ठयारो पर्ने गरेको उनले बताए । उनले भने,‘राज्यले नि:शुल्क स्वास्थ्य सेवा भनेको वडा स्तरमा दिने आधारभुत सेवा हो । त्यो नि:शुल्क हुन्छ । तर अस्पतालमा दिईने विशिष्ट सेवा नि:शुल्क होइन । मात्र पैसा दिन नसक्ने गरिब, बिपन्न वर्गको लागि सेवा दिने भनेको हो ।’
नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले भेरी अस्पतालले आधा नेपालका नागरिकलाई सेवा दिन सफल भएकोमा अस्पताल व्यवस्थापन टिम र कर्मचारीलाई धन्यवाद दिए । राज्यले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको मौलिक हक हो भनेर संविधानमा उल्लेख गरेपनि त्यसलाई कार्यान्वयन गराउन निकै समस्या रहेको बताए । उनले भने,‘यदि संविधानमा इमानदारिताका साथ यो कुरा लेखिएको हो भने भेरी अस्पतालको भौतिक पुर्वाधार विकास र जनशंक्ति बढाउनमा सरकारले सहयोग गर्नु पर्छ ।’
बुधबार नयाँ इमरर्जेन्सी कक्षको उद्घाटन गरिएपनि गणतन्त्र दिवसको अवसर पारेर संचालनमा ल्याउने तयारी भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले बताए ।
नयाँ इमरर्जेन्सी भवनबाट अब एकै ठाउँमा बिरामीहरुलाई ल्याब सुविधा, एक्सरे लगायतका अन्य सुविधा उपलब्ध हुने डा. चापागाईले बताए । हाल १ सय ६२ शैयाबाट सेवा दिईरहेको भेरी अस्पतालले अब करिब ३ सय शैयाबाट सेवा दिने सक्ने अवस्थामा पुगेको उनले बताए ।
। कार्यक्रममा बाँकेका सहायक जिल्ला अधिकारी एवम् प्रवक्ता हरि प्रसाद शर्मा, अस्पताल विकास समिति अध्यक्ष प्रमोद कुमार धिताल, सदस्य धनिराम ओली लगायतले भनाई राखेका थिए । सदस्य ओलीले आफुहरुको कार्यकालमा गरेको प्रगति र प्रयासहरुको बारेमा अवगत गराएका थिए । अध्यक्ष धितालले अस्पतालको भौतिक पुर्वाधार विकासमा पुर्व मन्त्री इस्तियाक राईले सहयोग गरेको स्मरण गरे । सहयोग प्रमुख जिल्ला अधिकारी शर्माले भेरी अस्पतालले नेपालगन्जलाई मेडिकल हबको रुपमा स्थापित गरेकोले यसको सेवाहरु समय अनुसार विकास हुदै जानु पर्ने बताए । कार्यक्रममा कार्यकाल सकिएर बिदा हुन लागेका अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्यहरु धनीराम ओली, कृष्णप्रसाद श्रेष्ठ र सरु मल्लको विदाई पनि गरिएको थियो ।