डोल्पामा प्रहरीद्धारा अफिम खेती नष्ट अभियान तिब्र
Friday, May 26th, 2023, 8:08 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १२ जेठ
हिमाली जिल्ला डोल्पामा पछिल्लो समय प्रहरीले अबैद्ध रुपमा लगाइएको अफिम खेतीलाई नष्ट गर्ने अभियानलाई तिब्रता दिएको छ । डोल्पाका विभिन्न तहमा लुकाईछिपाई २९ रोपनी जग्गामा गरिएको अफिम खेती नेपाल प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
गोप्य सुचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दै गर्दा त्रिपुरासुन्दरी नगरपालिका वडानम्बर ५ मा पर्ने भु ठाउँमा लगाइएको १२ रोपनी ल्हाँ गाउँको एकान्त भन्ने ठाउँमा १० रोपनी जग्गा र ल्हाँमा नै पर्ने माथिल्लो भु भन्ने ठाउँमा लगाइएको ७ रोपनी गरी जम्मा २९ रोपनी जग्गामा लगाइएको अबैद्ध अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो ।
शुक्रवार मात्र गोप्य सुचनाको आधारमा इलाका प्रहरी चौकी खदाङ्ख (करबगाड)का इँचार्ज रत्नलाल खड्का प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज सई रुद्धबहादुर शाहीको संयुक्त कमाण्डामा गएको १५ जनाको प्रहरी टोलीले त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने माथि भु भन्ने ठाउँमा ७ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पा प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले जानकारी दिए ।
विभिन्न चरणमा गरी त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न स्थानमा लुकाइछिपाई खेती गरिएको अफिमलाई नष्ट गर्ने काम प्रहरीले गरेको हो । केहि समय अगाडि मात्र प्रहरी निरीक्षक नविन चपागाईको कमाण्डमा खटिएको २७ जनाको टोलीले ल्हामा पर्ने भु र एकान्त भन्ने स्थानमा २२ राृेपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको थियो ।
डोल्पामा प्रहरीले तिन चरणमा गरी अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले सार्वजनिक जग्गामा कसले कसरी अबैद्ध अफिम खेती गरिएको हो भनने बारे अनुसन्धान भईरहेको र दोषी फेला परेमा वा पहिचान भएमा कानुन बमोजिम कारवाही भइजाने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विभिन्न चरणमा अफिम खेती नष्ट अभियानलाई तीब्रता दिई प्रहरीले अबैद्ध अफिम खेती निरुत्साहन गरिरहेको छ ।