जेष्ठ नागरिक भवनको लागि सहयोग जुट्दैं
Wednesday, June 28th, 2023, 10:43 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असार
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ ले निर्माण गर्न लागेको जेष्ठ नागरिक मिलन केन्द्र भवन निर्माणको सहयोग रकम जुटनेक्रम सुरु भएको छ । मंगलबार भवन निर्माणको सिटिजन बैंकका सिईओ गणेश राज पोख्ररेलले १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी नेपालगन्ज स्थित सिटिजन बैंकको शाखाले पनि १ लाख रुपैयाँ सहयोग गरेको छ । अर्का समाजसेवी एवम् ओम इलेक्ट्रोनिक्सका शिवराज शर्माले ११ हजार रुपैयाँ भवन निर्माणको लागि सहयोग गरेका छन् । मंगलबार एक कार्यक्रममा सहयोगदाताहरुले वडा अध्यक्ष तरुण बज्राचार्य, जेष्ठ नागरिक क्लबका अध्यक्ष अजित कुमार शर्मा, सचिव धर्मदत्त सुवेदी लगायतलाई रकम हस्तान्त्रण गरेका थिए ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ ले वडा कार्यालय नजिकै जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्ने तयारी गरिरहेको छ । वडा अध्यक्ष बज्राचार्यका अनुसार भवन निर्माणमा करिब १ करोड ४७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भवन निर्माणमा लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उप–महानगरपालिका र वडाले पनि आर्थिक सहयोग गरेका छन् ।
नेपालगन्जका सुरेन्द्र हमाल लुम्बिनी प्रदेशको वन मन्त्री हुँदा २० लाख रुपैयाँ बिनियोजन गरेका थिए । अध्यक्ष बज्राचार्यले वडामा जेष्ठ नागरिकको सम्मान भवन निर्माण गर्न लागिएको बताए । जहाँ जेष्ठ नागरिकलाई आराम गर्ने, योग र ब्यायम गर्ने, छलफल र भेटघाट जस्ता कार्य गर्नको लागि सुविधा उपलब्ध हुनेछ । जेष्ठ नागरिक मिलन केन्द्र भवनमा योगा, मनोरञ्जन, आराम, बैठक हल, भान्सा घर जस्ता सुविधा हुने अध्यक्ष बज्राचार्यले कालपृष्ठ दैनिकलाई बताए ।