पोखराका सडक सरसफाई गर्दै हेल्थ कलेजका विद्यार्थी
Wednesday, June 28th, 2023, 12:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असार
नेपालगन्ज हेल्थ कलेजमा डिप्लोमा इन फार्मेसी तेस्रोमा अध्ययन् गरिरहेका विद्यार्थीले पोखरा भ्रमणका क्रममा सहरका विभिन्न स्थानमा सरसफाई गरेका छन् । मंगलबार नेपालगन्ज हेल्थ कलेजका विद्यार्थीले लेकसाईड बजार देखि चिप्ले ढुंगा हुँदैं पृथ्वीचोक सम्मको सडकमा सरसफाई गरेका थिए । सरसफाईमा हेल्थ कलेजका ४० विद्यार्थीसँगै कलेजकी प्रतिनिधि पदमा थापाको नेतृत्वमा सहरका विभिन्न स्थानका सडकमा भएका फोहोरहरुलाई सरसफाई गरिएको थियो ।
पोखरा भ्रमणमा रहेको नेपालगन्ज हेल्थ कलेजको टोलीले यसअघि पनि विभिन्न सामाजिक कार्य गरेको थियो । गत शनिबार हेल्थ क्याम्पसका विद्यार्थीले पोखरामा भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा समवेदना प्रकट गरेका थिए । गत २०७९ माघ १ गते पोखरामा यति एयरलायन्सको ९ एनएएनसी एटीआर ७२ जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो ।
दुर्घटना मृत्यु हुनेहरुको सम्झनामा नेपालगन्ज हेल्थ क्याम्पसको डिप्लोमा इन फार्मेसी तेस्रो वर्षका ४० जना विद्यार्थीहरुले दुर्घटना स्थलमा गएर पाँच मिनेट मौन धारण समेत गरेका थिए । अध्ययन भ्रमणमा पोखरा गएको नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थीको टिमले मन्दिरको सरसफाईसँगै अन्य विभिन्न सामाजिक कार्यहरु समेत गरेको क्याम्पसकी प्रतिनिधि पदमा थापाले बताईन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१० स्थित आर्दश नगरमा रहेको नेपालगन्ज हेल्थ क्याम्पस पश्चिम नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशंक्ति उत्पादन गर्ने कलेजका रुपमा चिनिन्छ ।

……………

……………