रोपाईका बेला किसानलाई मलको चिन्ता
Friday, June 30th, 2023, 8:24 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १४ असार
बाँकेका किसानले धान रोप्न सुरु गरिसकेको छन् । धान रोप्ने कार्य धमाधम चलिरहेका बेला किसानलाई भने मलको चिन्ता सताउने गरेको छ । बाँकेका किसानले यस पटक पनि सहज रुपमा मल नपाउने सम्भावना देखिएको छ ।
धान रोपाई चलिरहेका बेला किसानको चिन्ता भने रासायनिक मल पाउने हो कि होइन भन्नेमा केन्द्रित हुने गरेको छ ।
देशभर जस्तै बाँके जिल्लामा पनि रासायनिक मलको हाहाकार छ । अहिलेसम्म सरकारले दीर्घकालीन समाधान नखोज्दा किसानले वर्षै पिच्छे मल अभाव झेल्नुपरेको छ । जिल्लामा आवश्यकताको आधा भन्दा कम मल आएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख शकिल अहमद बताउँछन् ।
बाँकेमा साल्टट्रेडिङले डिलर सहकारीको रुपमा नेपालगन्जमा १३, बैजनाथमा ९, डुडुवामा १, जानकीमा ४, खजुरामा ९, कोहलपुर ३ र राप्ती–सोनारी गाउँपालिकाका ६ वटा सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।
कृषि सामग्री कम्पनीले किसानका लागि जिल्लामा १ सय ७ वटा सहकारीलाई रासायनिक मल वितरण गर्दै आएको छ । तरपनि मल पाउन किसानबीच ठेलमठेल हुने गरेको छ ।
यहि अवस्थालाइ मध्यनजर गर्दै मल अभावको वैकल्पिक उपायबारे स्थानीय तहमा खोजि गरिन थालेको छ । यहाँका केही स्थानीय तहले किसानलाई मल अभाव हुन नदिने वैकल्पिक उपाय के हुन सक्छ भनेर खोज्न थालेका छन् ।
बाँकेको खजुरा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि मल अभाव हुन दिन पशु चौपाया पालनमा किसानलाई प्रोत्साहन गरी कम्पोष्ट मल उत्पादनमा जोड दिनुका साथै विभिन्न संंस्थाहरुको सहकार्यमा ‘नानो युरिया’ उत्पादन तर्फ समेत जोड दिने योजना बनाएको छ ।
‘नानो युरिया’ वातावरणमैत्री, परम्परागत युरियाभन्दा सस्तो, स्वास्थ्य वातावरण, माटोको गुणस्तर र बढी उत्पादनका लागि उपयुक्त हुनुका साथै यसको प्रयोगले माटो, हावा र पानीमा नकारात्मक प्रभाव नपर्ने खजुरा गाउँपालिकाका कृषि शाखा प्रमुख पुनम पोखरेलले जानकारी दिईन् ।
‘सो मलले कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुर्धान, वातावरण प्रदूर्षण रोक्न, सहयोग पनि गर्छ । र हामीकहाँ दाना युरिया मलको खपत पनि घट्छ ।’–उनले भनिन् ।
यता बैजनाथ गाउँपालिकाले पनि अबको चार बर्षमा किसानहरुको मल अभावको अवस्था अन्त्य गर्ने लक्ष्य लिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा बताउँछन् ।
भकारो सुधार कार्यक्रमलाई मल उत्पादनसंग जोडेर किसानसंग पालिका कार्यक्रम अन्र्तरगत प्राङगारिक मलद्वारा युरिया मललाई विस्थापित गर्ने पालिकाको योजना रहेको उनले जानकारी दिए ।
उनले भने,–‘आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा पनि यस कुरालाई हामीले समेटेका छौं । हामीले चार प्रकारका मल उत्पालन गर्ने कुरामा विषेश जोड दिएका छौं । त्यसमा गड्यौलामा, प्राङगारिक मल, कम्पोष्ट मल तथा हरियो मल हामीले उत्पादनमा जोड दिएका मलका प्रकार हुन् । यी चार प्रकारका मल उत्पादन गरेर अवको चार बर्षमा हामी मलमा आत्मनिर्भर बन्ने छौं ।’