बाँकेमा मनाईयो धान दिवस
Friday, June 30th, 2023, 8:27 pm
Kalpristha
लक्ष्मी गौडेल
नेपालगन्ज, १५ असार
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्वि’ मूल नाराका साथ देशैभर जस्तै बाँकेमा धान दिवस मनाईएको छ । २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई बाँकेको आयोजनामा बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ को डिगियामा २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।
त्यस अवसरमा बोल्दै वरिष्ठ कृषि अधिकृत तथा परियोजना कार्यान्वयन ईकाई बाँकेका प्रमुख राकेश ओझाले कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै यसको उत्पादन वृद्वि गर्न आवश्यक रहेको बताए ।
प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको बताउँदै उनले यसको छुट्टै सांस्कृतिक महत्व समेत रहेकोले यसको आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्न आवश्यक रहेको उल्लेख गरे ।
‘धान हाम्रो प्रमुख बाली मध्येको एक हो । यसकारण हामीले आधुनिकीकरण वा यान्त्रीकरण जुनसुकै सिप लगाएर भएपनि यसको उत्पादनमा वृद्वि ल्याउनै पर्छ । अहिलेको अवस्थामा हामीले धानको उत्पादन वृद्वि गर्नका लागि तिनै तहको सरकारका माध्यमबाट लागि परेका छौं ।’– वरिष्ठ कृषि अधिकृत ओझाले भने ।
यसैगरि बैजनाथ गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले बैजनाथ गाँउपालिकामा धान उत्पादनमा वृद्वि गर्नका लागि आवश्यक मल, विउ तथा सिँचाई र प्रविधि लगायतको व्यवस्थाका लागि गाँउपालिकाले आवश्यक पहल गर्ने बताए । ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको भन्दै उनले यस दिवसलाई युवाहरुसँग जोडेर लैजान आवश्यक रहेको बताए ।
अबको कृर्षि कर्मलाई यान्त्रीकरणसँग समेत जोडेर लैजान आवश्यक रहेको भन्दै उनले भने,–‘अघिल्लो बर्षसम्म हालले धान रापेर धान दिवस मनाउने हामीले यस पटक भने मेसिनले रोपेर यो दिवस मनाएका छौं । आगामि बर्षमा हामीले यस क्षेत्रको यान्त्रीकरणमा बढोत्तरी गरेर धान काट्दा पनि मेसिन प्रयोग गर्ने अवस्थामा पुग्ने लक्ष्य हामीले तय गरेका छौं ।’
यसैविच धान उत्पादनमा वृद्वि गर्नका लागि विभिन्न प्रकारका विउहरुको उत्पादनमा पनि जोड दिन आवश्यक रहेको अगुवा कृषक दिवाकर खनालले बताए । ‘जहिलेपनि हल्दीराम हल्दीराम मात्रै भनेर हुँदैन । अरुपनि थुप्रै राम्रो उत्पादन हुने धानका प्रकार छन् । त्यस्ता धानको विउ उत्पादनमा जोड दिन जरुरी छ ।’–उनले भने ।
मेसिनले धान रोपेर मनाईएको सो धान दिवसका अवसरमा जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाईका कर्मचारीहरु बैजनाथ गाँउपालिकाका जनप्रतिनिधिहरु तथा स्थानीय कृषकहरुको सहभागिता रहेको थियो ।
खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरिन्छ । धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । धानको उत्पादन वृद्धि एवं उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ ।

..

..