सन्चारकर्मी संग कृषि ज्ञान केन्द्र अन्तरक्रिया
Wednesday, July 5th, 2023, 8:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असार
कृषि ज्ञान केन्द्र बाकेले सन्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गर्दै केन्द्रले सन्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
त्यस अवसरमा बोल्दै कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सकिल अहमदले चालु आर्थिक बर्षमा सोचे अनुरुपको कार्य प्रगती गर्न नसकेको बताए । उनले समयमै बजेट नआउदा करिव ५ करोड बराबरको बजेट र कार्यक्रम फिर्ता गएको जानकारी दिए ।
आफुहरु अघि बढ्नुको साटो पछाडी फर्केजस्तो भएको बताउदै उनले भने,–‘अरु काम गरेर अघि बढ्छन् । हामी भने अँझ पछि धकेलिएको जस्तो भएको छ । एक त बजेट नै घटेर आएको थियो । त्यसमा पनि ठुला अनुदानका कार्यक्रमहरुलागि विनियोजित गरिएको बजेट गत जेठमा मात्रै निकासा भयो । अनि हामी त्यति ठुलो रकम कसरी खर्च गर्न सक्छौं । त्यसको प्रक्रियाकै लागिपनि हामीलाई एक महिना लाग्छ ।’
श्रोतसाधनकै कमीका कारण आफुहरुले किसानको अपेक्षा अनुरुपका काम गर्न नसकेको उनले बताए । उनले आगामी दिनमा किसानसँगको पहँचमा वृद्वि गर्ने कुरामा आफुहरुले जोड दिने बताए ।
गत आर्थिक बर्षमा १४ करोड बजेट पाएको कृषि ज्ञान केन्द्रले चालु आर्थिक बर्षमा भने ९ करोड २१ लाख १५ हजार ८ सय २५ रुपैंयाको बजेट पाएको थियो ।