लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रगति ६० प्रतिशत
Wednesday, July 5th, 2023, 8:16 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २० असार
भदौबाट कक्षा सन्चालन गर्ने भनिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले ६० प्रतिशत मात्र वित्तिय प्रगति गरेको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयले १० करोड विनियोजित रकममा ६० प्रतिशत मात्र वित्तिय प्रगति गरेको हो ।
चालु आर्थिक वर्षको असोजमा मात्रै बजेटको अख्तियारी पाएकोले वित्तिय प्रगति सन्तोष जनक नभएको लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारीले जानकारी दिएका छन् ।
‘गत भदौमा कार्यालय उद्घाटन भयो । यद्यपी असोज पछि मात्रै हामीले विश्वविद्यालयका लागि विनियोजित बजेट खर्च गर्ने अख्तियारी प्राप्त ग¥यौं । त्यसपछि खर्च गर्ने प्रक्रियामा हामी गयौं । तर, त्यसका लागि प्रर्याप्त समय पुगेन ।’–उनले भने ।
ईलाईब्रेरी, विश्वविद्यालयको अनलाईन सिस्टम, ईन्ट्रान्स म्यानेजम्यान्ट सिस्टमहरु, एडमिसन सिस्टमहरु, सवारीसाधन, भवनको व्यवस्थापन तथा कार्यालय व्यवस्थापन लगायतका काममा सो रकम खर्चिएको विश्वविद्यालयका रजिष्ट्रार भण्डारीले जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकारको स्वामित्वको पहिलो विश्वविद्यालय लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ मा निर्माण गरिँदैछ ।
लुम्बिनी प्रदेश सरकारको पूर्ण स्वामित्व हुने गरी संघीय सरकारबाट स्वीकृत भई खजुरामा स्थापना गरिएको यस प्राविधिक विश्वविद्यालयको साना ठुला गरेर ३० वटा कोठा भएको प्रशासनिक भवन छ ।
‘यस भवनका २० वटा कोठाहरु प्रशासनिक कामका लागि प्रयोग भईरहेका छन् । ३ वटा कोठा अध्ययनका लागि, २ वटा कोठा ल्यावका लागि र एउटा हल लाईब्रेरीका लागि प्रयोग गर्ने हाम्रो योजना छ ।’–उनले भने ।
यस विश्वविद्यालयको लागि खजुरामा अवस्थित जनक शिक्षा सामाग्री केन्द्रको छापाखाना भवन भाडामा लिने भनिए पनि सो कार्यालयका उच्च पदस्थ कर्मचारीहरु यस विषयमा सकारात्मक नभएकोले त्यसका लागि समय लाग्ने उनले बताए ।
भण्डारी भन्छन,‘माथिल्लो निकायमा कुरा नमिलेका कारण खजुराको जनक शिक्षा सामाग्री केन्द्रको छापाखाना भवन भाडामा लिने कुराको प्रक्रिया टुंगोमा पुग्न भने केहि ढिलो भएको छ । यद्यपी कक्षा कोठा अभावमा तत्काल सन्चालन गर्न लागिएका शैक्षिक कार्यक्रमहरु भने प्रभावित हुने छैनन् । यसका साथै ४० बर्षका लागि खजुरा गाउँपालिका स्थित ८ नम्बर वडामा १ सय विगाहा जग्गा भाडामा लिने प्रक्रिया सुरु भईसकेको छ । अहिले सिफरिस समितिले सिफारिस गरेको सो जग्गाको फाईल भुमि अभिलेख व्यवस्थापन कार्यालय हुँदै मन्त्रालयमा पुगिसकेको छ ।’
सो जग्गा भाडामा लिने कुराको प्रक्रिया अब छिट्टै टुङ्गीने उनको भनाई थियो । कक्षा संचालनका लागि आवश्यक पर्ने लाईब्रेरीका सबै सामाग्रीहरुको व्यवस्थापन भईसकेपनि ल्यावमा आवश्यक पर्ने कम्प्युटर लगायतका सामाग्रीको व्यवस्थापन भने केहि समयमै हुने उनले जानकारी दिए ।
विश्वविद्यालयका रजिस्ट्रार रेग बहादुर भण्डारीका अनुसार भौतिक पुर्वाधार एवम् शैक्षिक पुर्वाधार निर्माणको लागि लुम्विनी प्रदेश सरकारसँग आवश्यक बजेट माग गरिएको छ । त्यसका लागि ५४ करोड बजेट माग गरिएको रजिस्ट्रार भण्डारीले जानकारी दिए ।
यसक्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने भनिएको सो विश्वविद्यालय बाँकेको मात्रै नभईकन प्रदेशकै गौरवको आयोजना हो । लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना हुनुले यस भुगोलको शैक्षिक क्षेत्रको विकास मात्रै नभईकन यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने अपेक्षा यहाँका स्थानीयले लिएका छन् ।

…