१३ विद्यालय कारबाहीमा, ८ वटाको खारेजी प्रक्रिया अघि बढाउँदै कोहलपुर
Wednesday, July 5th, 2023, 8:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असार
कोहलपुर नगरपालिका शिक्षा शाखाले नगरका १३ वटा विद्यालयलाई कारबाही गरेको छ । कोहलपुर नगरपालिकाका विभिन्न ८ वटाले विगत तिनवटा शैक्षिक सत्रदेखि र ५ वटा विद्यालयले शैक्षिक सत्र २०८० मा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अद्यावधिक नगरेको कारण शिक्षा शाखाले कारवाहि गरेको हो ।
साथै कोहलपुर नगरपालिकाका शिक्षा शाखाले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा आर्थिक बर्ष २०७७–७८, २०७८–७९ तथा २०७९–८० गरि लगातार तिन बर्षदेखि आफुलाई अद्यावधिक नगरेका ८ वटा विद्यालयलाई अवको सात दिनभित्र सम्पर्कमा नआए अभिलेखबाट हटाउने प्रक्रिया अघि बढाउने नगरपालिकाले जानकारी दिएको छ ।
आफुलाई लगातार ३ बर्षसम्म अद्यावधिक नगर्ने बाल विज्ञान इ.बो. स्कूल, न्यू कर्णाली इ.बो. स्कूल, समता स्कूल, संकल्प शिक्षालय, एस मदरल्याण्ड स्कूल, वागेश्वरी विद्याश्रम, टाइम्स मल्टिपल एकेडेमी र कोहलपुर इ.मि. स्कूललाई नगरपालिकाले आफ्नो अभिलेखबाट हटाउने प्रक्रिया अघि बढाएको हो ।
‘ति विद्यालय किन अद्यावधिक भएनन् ? लापरवाहि किन गरियो ? वा ति विद्यालयहरु सन्चालनमै पो छैनन् की भन्ने कुराको जानकारी लिने हेतुले हामीले सात दिने सुचना जारी गरेका छौं । यो समयमा वहाँहरु आउनुभयो भने हामी डकुमेन्ट अपडेट गरेर राख्ने छौं । तर, आउनु भएन भने नगरपालिकाले त्यस्ता विद्यालयलाई अभिलेख बाट हटाउने र कारवाहि गर्ने भन्ने कुरा हो ।’–शाखा अधिकृत मिजारले भने ।
साथै वेष्टर्न इ.मि सेकेन्डरी स्कूल, लर्ड वागेश्वरी एकेडेमी, रुपाचा बिलिभर्स इ.स्कूल, फिनेक्स एकेडेमी तथा ह्याप्पी किड्स मन्टेसरी स्कुल कारबाहीमा परेका छन् ।
ति विद्यालयहरूले निर्धारित समय सीमाभित्र शैक्षिक सत्र २०८० को एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक नगरी शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा (झ) बमोजिमको निर्देशन पालन नगरेको कोहलपुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत रविलाल मिजारले जानकारी दिए । उनीहरुको कारवाहिका लागि सात दिने सुचाना समेत जारी गरेको उनले बताए ।
शिक्षा ऐन २०२८ (संशोधनसहित)को ऐनको दफा १७ को उपदफा २ (ग) को कारवाही आकर्षित हुन गएको हुँदा कोहलपुर नगर शिक्षा समितिको गत चैत १६ गतेको निर्णय अनुसार नगद २५ हजार रुपैयाँ जरिवाना स्वरुप कारवाही गरिएको हो ।
साथै सूचना जारी भएको मितिले ७ दिनभित्र जरिवाना नतिरेर अद्यावधिक पनि नगरेमा थप कारवाही प्रक्रिया अघि बढाइने शाखा अधिकृत मिजारले जानकारी दिए ।
यहाँका कतिपयले झोलामा विद्यालय सन्चालन गरेको भन्दै त्यसखालको प्रवृत्तिको अन्त्य तथा नगरको शैक्षिक गुणस्तर सुधारका निम्ति सो कारवाहि अनिवार्य रहेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य बताउँछन् ।
‘एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा आवद्व हुने तर आफुहरुलाई अद्यावधिक नगर्ने विद्यालयलाई हामीले कारवाहिको प्रक्रिया अघि बढाएका हौं ।’–उनले भने ।