आफन्तले नै बिक्री गरे रेश्मालाई भारतमा
Thursday, July 6th, 2023, 7:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ असार
डुडुवा गाउँपालिका वडा नम्बर १ पिपरहवाका नारायण कुर्मी र सिपुरी कुर्मीले आफनो छोरीलाई आफनै आफन्त र पुर्व सासद विजय यादवले भारतमा लगेर बिक्री गरेको आरोप लगाएका छन् ।
नारायण र सिपुरीले आफनी १९ वर्षीय छोरी रेश्मा बर्मालाई आफना आफन्त पर्ने केहि व्यक्ति र डुडुवाका स्थानीय नेता विजय यादवले अपहरण गरेर भारतीय नागरिकलाई बिक्री गरेको आरोप लगाए ।
बिहिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै कुर्मी परिवारले घटनाको बारेमा जानकारी गराए । आफनो छोरीलाई भारतमा लगेर बिक्री गर्ने कार्यमा बुहारी नाता पर्ने केतिया कुर्मी, आरती बर्मा, पवन बर्मा, जलवर्षा कुमी, दिनेश कुर्मी, नेता यादव सहितको व्यक्तिहरुको संलग्नता रहेको कुर्मी परिवारले आरोप लगाएको छ ।
गत वैशाख २० गतेदेखि आफनो छोरी हराएको भन्दैं प्रहरीको उजुरी गर्न जाने क्रममा स्थानीय नेता यादवले कुर्मी दम्पतीलाई रोकेका थिए ।
स्थानीय नेता यादव सहित व्यक्ति मिलेर आफनी छोरी रेश्मालाई भारतीय सहर बाबागन्ज नजिकैको अचकवा गाउँमा लगेर कुन्दन बर्मासँग जर्वजस्ती विवाह गरिदिएको रेश्माका बुबा नारायण कुर्मीले बताए ।
उनले भने,‘छोरीलाई नेपाल फिर्ता बोलाईदिनु भन्दा कसैले मान्दैनन् । मेरो छोरीलाई आफन्त र विजय यादवले २ लाख रुपैयाँमा बिक्री गरेका छन् । उनीहरुले हामीलाई केहि रकम दिएर घटनाको बारेमा सार्वजनिक नगर्न दबाब पनि दिएका थिए ।प्रहरीकोमा उजुरी दिन पनि दिएनन् ।’
सुरुमा यादवले २ लाखमा विवाद मिलाउने प्रतिवद्धता गरेका थिए । तर पछि उनले ६० हजार भारतीय रुपैयाँ रेश्माका बुबा आमालाई दिएर विवाद सामसुम पार्ने प्रयास गरेका थिए । घटनाको बारेमा प्रत्यक्ष रुपमा जानकार स्थानीय राम कुमार कुर्मीले नेता यादवले भारतीय नागरिकसँग रकम लिएर आफनी चेली रेश्मालाई बिक्री गरिएको आरोप लगाए ।
रेश्माको यसअघि नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १३ स्थित गगापुरकी निवासी कधई बर्मासँग विवाह भएको थियो । कधईको मानसिक अवस्था ठिक नभएका कारण रेश्मा माइतीघर डुडुवामा बस्दै आएकी थिईन । कधईको एक महिना अघि मृत्यु भयो । पतिको मृत्यु कार्यमा समेत रेश्मा सहभागि हुन सकिनन् ।
माइती रहेका बेला आफनी बुहारी पर्ने केतियाले विभिन्न प्रलोभनमा पारेर भारत बाबागन्ज अचकवा गाउँका इन्द्रजीत कुर्मीका छोरा कुन्दनलाई बिक्री गरेको रेश्माका आमा सिपुरीले पत्रकार सम्मेलनमा बताईन । उनले भनिन,‘जर्वजस्ती अपहरण गरेर मेरो छोरीलाई भारतमा लगेर बिक्री गरे । न्यायका लागि प्रहरीकोमा जान पनि दिएनन । केहि रकम लिएर हामीलाई मिल्न दबाब दिईरहेका छन् । तर हामीलाई हाम्रो छोरी चाहिएको छ ।’
रेश्माका बुबा–आमालाई ६० हजार भारतीय रकम लिएर विवाद मिलाउन यादवले दबाब दिदैं आएका छन् । मानवबेचखिन जस्तो कुरालाई समेत ढाकछेप गर्न नेता यादवले दबाब दिईरहेको स्थानीय राम कुमार कुर्मीले बताए । विजय यादवलाई कुर्मी परिवारले लगाएको आरोपको बारेमा बुझने प्रयास गर्दा उनको मोबाईलमा सम्पर्क हुन सकेन् । यादव यसअघि पनि यस्ता विवादीत घटनामा मुछिदैं आएका नेता हुन् ।