मनोरोगी ओम प्रकाशको गरियो उद्धार
Thursday, July 6th, 2023, 7:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ असार
बर्दिया गुलरिया नगरपालिका– ५ बाट एक मनोरोगी युवाको उद्धार गरि मानवसेवा आश्रम ल्याईएको छ ।
२७बर्षीय ओम प्रकाश थारु बिगत ५–६ वर्ष देखि मनोसामाजिक समस्याबाट ग्रसित थिए । घरका सदस्यहरुको आर्थिक अभाव साथै अशिक्षाको कमीले गर्दा केहि महिना देखि उनलाई घरमै फलामे साङ्लो बाधेर राखिएको थियो ।
स्थानीयहरुले उक्त युवाको आफ्नै परिवारका सदस्यले घरमै फलामे साङ्लोले बाँधी बन्दक गराई राखेको भन्ने जानकारी दिए पछि मानवसेवा आश्रमको उद्धार टोली उद्धारको लागि पुगेको थियो ।
केहि समय अवस्था अवलोकन गरि उनलाई गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल, स्थानिय समाजसेवी कल्पना नेपाल तथा हरि प्रसाद चौधरी र स्थानिय वासीहरुको रोहवरमा थारुलाई मानवसेवा आश्रम, नेपालगन्ज बाँके ल्याएको हो । उनलाई मनोचिकित्सकको सल्लाह बमोजिम औषधी उपचार सुरु गरिसकिएको मानवसेवा आश्रम बाँके जिल्ला संयोजक उर्विन सापकोटाले जानकारी दिए ।
मानवसेवा आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन र उनीहरुको दीगो व्यवस्थापन गर्दै आइरहेको छ ।
सिंगो नेपाल राष्टलाई नै सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट राखी मानवसेवा आश्रमले सडक मानवहरुको मानवोचित व्यवस्थापनका निम्ति गत वर्ष २०७९ बैशाख १ गतेबाट नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १० मा घर भाँडामा लिई सेवा सञ्चालन गरिरहेको छ । हाल आश्रममा ४ बालबालिका, ५ महिला, ३६ पुरुष गरि जम्मा ४५ जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडक आश्रित मानवहरु आश्रित छन् ।