एसईई परीक्षाको नतिजा सार्वजनिक
Thursday, July 6th, 2023, 7:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ असार
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका छन् । ४ ग्रेड ल्याउनेहरु ४ दशमलव ६३ छन् ।
गत वर्षभन्दा दोब्बर धेरैले ४ ग्रेड ल्याएका हुन् । गत वर्ष ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।
२०७९ गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीकासहित ४ लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए ।
जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र थिए । प्राविधिकतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।
ग्रेड कसरी थाहा पाउने ?
वि.सं. २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस भनिन्छ ।
त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी भनिन्छ ।
३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड दिइन्छ ।
एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।