मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परि ६ जनाको मृत्यु,
Tuesday, July 11th, 2023, 8:03 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २६ असार
मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनामा प¥यो । दुर्घटनामा परेर उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र पाइलट चेतबहादुर गुरूङको मृत्यु भयो ।
दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको छ ।
नेपालका लागि मेक्सिकोका मानार्थ महावाणिज्यदूत नरेश दुगडका प्रतिनिधि चिरञ्जीवी भट्टराईका अनुसार दुर्घटनामा मृत्यु हुनेमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । उनीहरूमध्ये दुई जना आमा–बुवा र तीन जना छोराछोरी हुन् ।
अध्यागमन विभागका अनुसार उनीहरू १५ दिनको भिजिट भिसा लिएर नेपाल आएका थिए । पासपोर्टमा उनीहरूको ठेगाना उत्तरी मेक्सिकोको कोआहुइला र निउभोलियोन उल्लेख छ। यी दुबै ठाउँ अमेरिकाको टेक्सास राज्यसँग जोडिएका छन् ।
‘उहाँहरू धनी परिवारका हुनुहुँदो रैछ । मेक्सिकोबाट घुम्न भारत आउनुभएको रहेछ। आइतबार दिल्लीबाट एयर इन्डियाको जहाजमा काठमाडौं आएको देखियो,’ भट्टराईले भने,‘हिजो लुक्ला जानुभएको थियो।’
उनीहरू सोमबार नै लुक्लाबाट माउन्टेन फ्लाइट गरेर काठमाडौं फर्किने योजनामा थिए ।
‘त्यस दिन मौसमले साथ नदिएर मात्रै मंगलबार काठमाडौं आउन लाग्नुभएको थियो । बाटैमा दुर्घटना भयो,’–भट्टराईले भने । मेक्सिकनहरू बुधबार दिल्ली फर्किने योजनामा थिए । दुर्घटनाबारे दिल्लीस्थित मेक्सिकन राजदूतावासलाई रिपोर्टिङ गरिरहेको र समन्वय गरेर शव पठाउने काम गर्ने भट्टराईले बताए ।
यसैविच, दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाको शव काठमाडौं पुराइएको छ । मंगलबार साँझ काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा शव पुराइएको हो । अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरमा राखेर ६ जनाको शव काठमाडौं ल्याइएको प्रहरी वृत्त महाराजगन्जका डिएसपी अंगुर जिसी बताए ।
मंगलबार बिहान १० बजे सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । पछि हेलिकप्टर लिखुपिके गाउँपालिका–५ स्थित लामजुरा डाँडामा दुर्घटनामा परेको अवस्थामा फेला परेको थियो ।
हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र ५ जना मेक्सिकन नागरिक थिए ।