अधिकारका लागि बोल्ने हौसला दिदैं गाउँका समुह
Wednesday, July 12th, 2023, 8:20 pm
Kalpristha
सावित्री विश्वकर्मा
नेपालगन्ज, २७ असार
सुर्खेत मेहेलकुनाबाट २०५५ सालमा बाँके आएकी ४५ वर्षकी जमुना बि.सी. अहिले दुई छोरा–छोरी संग बसिरहेकी छन् । मेहेलकुनाबाट कोहलपुर र कोहलपुरबाट नेपालगन्ज सम्मको जीवनयात्रामा उनले थुप्रै उत्तारचढाव देखे–भोगेकी छन् । उसो त आफ्नो घर छाडेर भौतारिदै हिड्ने रहर त कस्लाई पो हुन्छ र ? तर, जमुनालाई भने आफ्नै श्रीमानको हिंसात्मक ब्यवहारबाट बसाई सरिरहन प-यो ।
नेपालगन्ज आईसकेपछि जमुना स्थानीय स्तरमा गठित नमुना महिला विकास समितिमा समेत सहभागी हुन थालिन् । विस्तारै उनले आफुले भोगेको हिंसा र त्यसको कानुनी उपचारबारे थाहा पाईन् । विहेभएको २१ बर्षसम्म हिंसा सहेकी जमुनाले २०७७ सालमा सम्बन्ध बिच्छेदको मुद्दा दायर गर्ने हिम्मत गरिन् । शारीरिक र मानसिक हिंसाको सिकार भएकी जमुना अहिले आफु स्वतन्त्र भएको महशुस गर्छिन् ।
‘कतिपय अवस्थामा त म हिंसामा परेको छु । मलाई श्रीमानले यातना दिईरहेका छन्, भन्ने पनि थाहा नहुँदो रहेछ । भने, कतिपय अवस्थामा त थाहा पाएर पनि सहयोग गर्ने कोही नहुँदा निरिह भईने रहेछ । ‘मलाई विहे गरेर भित्र्याएको पहिलो दिनबाट मलाई कुट्न सुरु गरेका श्रीमान् विहे भएको २१ बर्षसम्म पनि सुध्रिएनन् । सुरुसुरुमा त सुध्रेलान भन्ने लाग्थ्यो । तर, मैले कहिँगएपनि शान्तिले बस्न पाईन । पछि, समुहमा बसिसके पछि आफ्नो समस्या, कुराहरु समुहमा बताउने र छलफल गर्ने लगायतका क्रियाकलापहरु भयो । आफ्नो पिडा समुहमा छलफल गरेपछि समुहका ब्यक्तिको पैरवीका कारण निःशुल्क वकालत गरिदिने वकिल समेत मैले पाए ।’–उनले भनिन् ।
‘समस्याको पिडा त भोग्नेलाई मात्र हुन्छ तर पनि समुहका ब्यक्तिले अदालतमा जाँदा दिनुभएको साथ, निराश हुँदा प्रदान गर्नु भएको हौसला र परामर्शले गर्दा एक्लै महशुस भने हुन पाएन । आर्थिक रुपमा समस्या हुँदा मुद्दा लड्न समेत कठिन भयो । तर, समुदायकै ब्यक्तिको पहलमा निःशुल्क रुपमा वकालत गरिदिने वकिल भेटिनुभयो ।’
आफु पिडितलाई कोरोनाकालले अझ धेरै पिडा दिएको तितो अनुभव छ उनीसंग । ‘कोरोना कहरले एक अर्का देखि समेत टाढा बस्नु पर्ने समयमा म दिनरात हिंसा सहेर बसेको छु ।’
अहिले जमुनाको कहालीलाग्दो समय हटेको छ । समुदायका व्यक्तिको सहयोग, समुहका व्यक्तिको साथ र आफ्ना छोरा छोरीको सामिप्यताले उनलाई हिंसाको लडाई जित्न सहज भएको छ । ‘मैले भोगेको पिडा कै कारण आज म बलियो भएकी छु ।’
हिंसामा परेकी महिलालाई साहस प्रदान गर्न, बलियो हुन, आफ्नो लागि लड्न र आफ्नो जित हासिल गर्न समुदायका हरेक व्यक्तिको साथ र सहयोगको महत्व हुन्छ भन्ने कुरा आफुले महशुस गरेको जमुना बताउँछिन् ।
जुनसुकै माध्यमबाट जसरी काम गरेपनि समुदायस्तरमा भएका स–साना समुहहरुले ग्रामीण जनजिविकामा बाँचिरहेका थुप्रै महिलाहरुको चेतनास्तर उकास्नमा र उनिहरुलाई शसक्त बनाउनमा महत्वपुर्ण भुमिका खेल्ने समाजशास्त्री राजेन्द्र ढकाल बताउँछन् ।
‘यस्ता समुहहरुले महिलाहरुको मात्रै नभई समग्र समाजकै चेतनाको स्तर उकास्न र उनीहरुलाई शसक्त बनाउन सहयोग गर्छन् । किनभने, समाजको महत्वपुर्ण हिस्सा ओगटेका महिलाहरु शसक्त, चेतनशिल तथा सचेत हुनुभनेको सामाजिक विकासको एउटा खुड्किलो पार गर्नु हो । यस्ता समुहहरु स्थानीय तह वा अन्य जुनसुकै सामाजिक संस्थाहरुबाट परिचालित भएपनि यसले सामाजिक र मानविय विकासमा महत्वपुर्ण योगदान रहन्छ ।’
यद्यपी, अँझैपनि ग्रामिण स्तरको भुईंतहमा यस्ता समुहहरु गठन हुन नसकेको समाजशास्त्री ढकालको भनाई छ ।