अधिकृत झा सहित दुई जनालाई भ्रष्टाचारको आरोप
Wednesday, July 12th, 2023, 8:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ असार
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओम नारायण झा सहित दुई जना उपर गैरकानुनी लाभ तथा हानी पु¥याएको आरोप लागेको छ ।
उनिहरुलाई आर्थिक बर्ष २०७८÷०७९ मा सहकारीको आयमूलक तालिम संचालन नगरी एवं प्रक्रिया नपु-याई पेश्की दिएको, नक्कली बिल भरपाई पेश गरी पेश्की रकम फर्छ्यौट गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन परेको थियो ।
सो निवेदनका आधारमा अनुसन्धान हुँदा वरिष्ठ शाखा अधिकृत झाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामबाट आर्थिक वर्ष २०७८÷०७९ मा मधेश प्रदेशका आठवटै जिल्लामा सहकारी सम्बन्धी आयमूलक तालिम संचालन गर्नको लागि पेश्की लिई कार्यक्रम संचालन गर्दा तालिममा खर्च भएको भन्दा बढी रकमको बिल पेश गरी पेश्की रकम फर्छ्यौट तथा बाँकी खर्च रकम सोधभर्नाको लागि झुठा बिल, भरपाई तयार गरी गराएको र अस्वाभाविक रुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाई बढी भुक्तानी लिएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिएका छन् ।
झाको सो काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) र (ञ) बमोजिमको कसुरजन्य कार्य भएकोले निजलाई बिगो ७ लाख १ हजार ३ सय असी रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो समेत असुलउपर हुन मागदावी गरिएको आयोगका सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।
साथै, नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीले आफू र प्रतिवादी ओम नारायण झालाई गैरकानुनी लाभ पु-याउने र नेपाल सरकार–सार्वजनिक संस्थालाई गैरकानूनी हानि पु-याउने कार्यमा झुठा बिल, भरपाई तयार गरी गराई एवं अस्वाभाविकरुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाई बढी भुक्तानी लिन सहयोग गरी मतियारको कार्य गरेको देखिंदा निज अरहुला कुमारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) र (ञ) बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा उनलाई बिगो ३ लाख ६८ हजार ८ सय ८० रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) वमोजिम मुख्य कसुरदारलाई हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सजाय गरी बिगो समेत असुलउपर हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।