जानकीमा उपाध्यक्षको किर्ते हस्ताक्षर, उपाध्यक्षले दिई प्रहरीकोमा उजुरी
Thursday, July 13th, 2023, 8:23 pm
Kalpristha
अध्यक्ष खाँले पालिकामा गैरजिम्मेवारी पुर्ण कार्य निरन्तर गर्दै आएको भन्दैं उपाध्यक्षले त्यसको बिरोध गर्दै आएकी थिईन् । किर्ते हस्ताक्षर गरेर आफुलाई भ्रष्टाचारमा फसाउन खोजेको समेत उनले आरोप लगाएकी छिन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ असार
बाँकेको जानकी गाउँपालिमा किर्ते दस्तखत गरी भुक्तानी लिन खोजिएको छ । जानकी गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक रामप्यारी यादवको किर्ते दस्तखत गरी ७ लाख १८ हजार रुपैयाँ भुक्तानी लिन खोजिएको थियो । तर उपाध्यक्षले आफनो हस्ताक्षर किर्ते गरेको भन्दैं प्रहरीकोमा उजुरी दिएपछि घटना सार्वजनिक भएको छ । यस घटनामा गाउँपालिकाकै कर्मचारी र जनप्रतिनिधिले कानुनी प्रक्रिया हतार हतारमा पुरा गरेर भुक्तानी लिने प्रयास गरिएको देखिन्छ ।
दीपक बिल्डर्सले पाएको गाउँपालिकाको गेट निर्माण गर्ने योजनाको भुक्तानीका लागि आवश्यक कागजात सहित पेश गरिएको फाईलमा आफ्नो किर्ते हस्ताक्षर भएको भन्दै गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सो कुरा बाहिरिएको हो ।
गाउँपालिकाको गेट निर्माण गर्नको लागि पालीकाले ७ लाख १८ हजार बजेट विनियोजन गरेको थियो । यद्यपी अनुगमन समिति संयोजकलाई थाहै नदिई असार १५ गते अनुगमन समितिको प्रतिवेदन पेस गरेर भुक्तानी लिने प्रयास गरिएको थियो । यसको जानकारी पाएपछि उपाध्यक्ष यादवले फाईल हेर्दा आफ्नो किर्ते हस्ताक्षर भएको पाएपछि उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । त्यसअघि उपाध्यक्षले यसका बारेमा आफनो पार्टीका शिर्ष नेताहरुसँग पनि जानकारी गराएकी थिइन् । अध्यक्ष खाँले पालिकामा गैरजिम्मेवारी पुर्ण कार्य निरन्तर गर्दै आएको भन्दैं उपाध्यक्षले त्यसको बिरोध गर्दै आएकी थिईन् । किर्ते हस्ताक्षर गरेर आफुलाई भ्रष्टाचारमा फसाउन खोजेको समेत उनले आरोप लगाएकी छिन् ।
संयोजकको किर्ते दस्तखत गरिएको सो प्रतिवेदनमा पूर्वाधार संयोजक तथा सदस्य टीकानाथ यादव, कार्यपालिका सदस्य कान्ती कादु, प्राविधिक शाखा प्रमुख धनबहादुर रोकाय र योजना शाखा प्रमुख तथा सदस्य सचिव शोभा पौडेल समेतले दस्तखत गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले भने उक्त प्रतिवेदनमा दस्तखत गरेका छैनन् ।
आफुहरुले दस्तखत गरेको तर उपाध्यक्षको दस्तखत किर्ते हो वा होईन भन्नेबारे आफुहरु जानकारी नभएको पूर्वाधार संयोजक तथा कार्यपालिका सदस्य टीकानाथ यादव बताउँछन् । आफुहरुले अनुगमन गर्दा सबै काम सहि र पुर्ण भएकाले हस्ताक्षर गरेको जानकारी दिँदै उनले भने,–‘हामीले अनुगमन पनि ग¥यौं । तोकिए अनुसारको काम भएकै कारण हामीले प्रतिवेदन बुझाएका थियौं । तर, त्यसमा उपाध्यक्षको हस्तारक्षर कहाँबाट आयो ? वहाँको हो की होईन भन्ने कुरा हामीलाई थाहा भएन ।’
अनुगमन समिति संयोजकको हस्ताक्षर नभएपनि भुक्तानी नरोकिने यादवको भनाई थियो ।
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले पनि उपाध्यक्षले आफुसँग सल्लाह नै नगरी जिल्ला प्रहरीमा उजुरी दिएको प्रति असन्तुष्टी व्यक्त गरेका छन् । ‘हामीले छलफल गरौं भनेकै हो । तर, वहाँ कुनै कुरा गर्न चाहानुहुन्न । बरु उल्टै वहाँले हाम्रो मिलोमतोमा भएको भन्दै हिड्नुभएको छ । जुन, हुँदै होईन । हस्ताक्षर गरेपनि सम्बन्धित निर्माण कम्पनिको व्यक्तिले गरेको होला । तर, हामीलाई विवादमा ल्याउन खोजिएको हो ।
यस विषयमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत डाँगीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।
जानकी गाउँपालिकाका उपप्रमुख रामप्यारी यादवले आफुलाई काम गर्ने वातावरण नदिएको, आफुले हेर्ने क्षेत्रको बजेट कटौती गरेको र उपाध्यक्ष तथा महिला भनेर हेपेको भन्ने अभिव्यक्ति यस अघिपनि सार्वजनिक कार्यक्रममा बोल्दै आएकी थिइन् ।
