उपन्यासकार खरेलको कृति ‘रानी तलाउ’ पुरस्कृत
Sunday, July 16th, 2023, 7:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ असार
उपन्यासकार कल्पना खरेलको चर्चित उपन्यास ‘रानी तलाउ’लाई एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ले प्रत्येक दुई वर्षमा प्रदान गर्ने ‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ यस वर्ष बाँकेका उपन्यासकार खरेलको उपन्यास ‘रानी तलाउ’ लाई प्रदान गरिने भएको हो ।
सुमन तिम्सिनाले अनेसास अन्तर्गत स्थापना गरेको यो पुरस्कार यसपटक उपन्यासकार खरेलको उपन्यास ‘रानी तलाउ’ लाई दिने घोषणा गरिएपछि आफू उत्साहित भएको बताईन् ।
साहित्यकार खरेलले ‘रानीतलाउ’ उपन्यासमा विवेक र नैतिकतालाई हतियार बनाएकीछन् । उनले यो उपन्यासमार्फत समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहेको देखिन्छ ।
वरिष्ठ कठाकार सनतकुमार रेग्मीले सामाजिक अन्तर्विरोध र सङ्घर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर ‘रानी तलाउ’ उपन्यासको विषयवस्तु बुनिएको बताए ।
उनले समाजमा रहेका अनेकौँ विकृति र विसङ्गतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाजको बाटो देखाउन सक्षम भएकी खरेलले सर्वाेत्कृट पुरस्कार जित्न सफल भएको बताए ।
साहित्यकारहरुका अनुसार खरेलको यस उपन्यासले पवित्र र दृढ इच्छाशक्ति सर्वशक्तिमान हुन्छ भन्ने कुरालई आकर्षक ढङ्गले उठाएको छ । सबैभन्दा ठुलो कुरा उपन्यासमा मानव आत्माको कुनै जात हुँदैन भन्ने कुरालाई सुन्दर ढङ्गले उठाइएको छ ।
यस्तै, उपन्यासकार खरेलका ६ वटा कृति प्रकाशित भइसकेका छन् । उनका प्रकाशित कृतिहरुमा ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘रानी तलाउ’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथासङ्ग्रह, ‘क्षितिज पारिका शब्दहरु’ गीतिसङ्ग्रह र ‘कामना’ गीति एल्बम छन् ।