खोटो सङ्कलन गर्न जङ्गलमा बास
Tuesday, July 18th, 2023, 8:19 pm
Kalpristha
लिलाधर वली
दाङ, ३१ असार
रोल्पा रुन्टीगढी गाउँपालिकाका दुई दाजुभाई सल्लाको खोटो सङ्कलन गर्न जङ्गलमा बास बस्ने गरेका छन् । उनीहरू खोटो सङ्कलनका लागि दाङको पहाडी बंगलाचुली गाउँपालिका–८ को गोगनपानी समुदायिक वन समूहको रानीबास जङ्गलमा लामो समयदेखि बस्दै आएका छन् । रुन्टीगढी गाउँपालिका–१ गैरीगाउँका सुरेश बुढा मगर र नवीन बुढा मगरले जङ्गलमै पाल टाँगेर चैतदेखि खोटो सङ्कलन गर्दै आएका हुन् ।
जङ्गलको छेउमा बस्ने घर नभएको र टाढाबाट काममा आउनु पर्दा ढिला हुने भएकाले जङ्गलमै बस्नु परेको दाजु सुरेश बुढा मगरले बताए । ‘वर्षाको समय र पहाडी ठाउँ भएकाले चिसो र हिलोले समस्या हुन्छ’, सुरेशले भने, ‘तर आर्थिक अभावका कारण घर चलाउन जङ्गलमै बस्नुपर्ने बाध्यता छ ।’ उनले जङ्गलमा बस्दा रातीको समयमा किराकाँटीदेखि जङ्गली जनावरको समेत डर हुने गरेको बताउँछन् ।
सुरेशले विगत चार वर्षदेखि खोटो सङ्कलनको काम गर्दै आएका छन् । खोटो सङ्कलन गरेबाफत प्रतिक्विन्टल दुई हजार रूपैयाँ पाउने गरेको सुरेश बताउँछन् । विगतमा सल्यान, खोटाङ, रोल्पालगायतका जिल्लमा समेत खोटो सङ्कलनको काम गर्ने गरेको उनी बताउँछन् । बाहिर जिल्लामा काम गर्दा घर नजिकै भएका कारण कोठा भाडा लिएर बस्ने गरे पनि अहिले बस्ती टाढा भएकाले जङ्गलमै बस्नुपर्ने बाध्यता भएको उनी बताउँछन् ।
जङ्गलमा बसेर खोटो सङ्कलनका लागि राम्रो रूखको पहिचान गर्ने, त्यसलाई ताछ्ने, खोटो सङ्कलनका लागि एसिड हाल्ने र रूखमा सोली राख्ने काम आपूmहरूले गर्ने गरेको नवीन बताउँछन् । जङ्गलमा बसेर काम गर्नुपर्दा जोखिम हुने गरे पनि खोटो सङ्कलन गर्दै आएको उनी बताउँछन् । ‘बर्सादको समयमा जङ्गलमै बसेर काम गर्दा जोखिम पनि हुन्छ तर कामका लागि बस्नुपर्ने हुन्छ’, उनले भने, ‘टाढा बस्दा काममा आउन जानै ढिला हुने गर्दछ ।’ कमाउन बाहिर देश जाने रहर भए पनि दाजुसँगै आफ्नै ठाउँमा काम गर्न पाएको उनले बताए ।
जङ्गलमा बसेर काम गर्दा अन्य समयमा दुःख नहुने गरे पनि वर्षा याममा समस्या हुने गरेको उनी बताउँछन् । ‘पानी नपरेको समयमा जङ्गलमा बस्दा ठिकै हुन्छ तर पानी प¥यो भने बस्न र पकाउन निकै समस्या हुन्छ’, सुरेशले भने । उनकाअनुसार सल्लाको रूखबाट चैत–बैशाखदेखि मंसिर–पुस महिनासम्म खोटो सङ्कलन गर्ने गरिन्छ ।
चिसो मौसममा खोटो कम निस्कने भएकाले खोटो सङ्कलन कार्य बन्द गरिन्छ । बंगलाचुली गाउँपालिका वडा नं. ८ का ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहबाट खोटो सङ्कलन गर्ने गरिन्छ भने जिल्लाभर १० वटा सामुदायिक वन समूहबाट खोटो सङ्कलन गरिँदै आएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।