१५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण
Tuesday, July 18th, 2023, 8:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ साउन
देशभरका १ सय ५४ स्थानीय तहले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाएका छैनन् । नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि ति स्थानीय तहले नबुझाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको आर्थिक वर्ष २०८०÷०८१ को बजेट अपडेट’ विवरण अनुसार २०.४५ प्रतिशत स्थानीय तह बजेटविहीन रहेको देखिएको हो ।
यस अवधिसम्ममा बजेट पेश भइसकेका पालिकाको संख्या ५ सय ९९ रहेको छ । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ६३ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । सबैभन्दा कम कर्णाली प्रदेशका चार स्थानीय तहले मात्रै बजेट ल्याउन बाँकी रहेको देखिएको हो ।
कोशी प्रदेशका २९, बागमतीका २४, गण्डकीका सात, लुम्बिनीका १४ र सुदूरपश्चिमका १३ पालिकाले आफ्नो वार्षिक बजेट पारित भएको विवरण पेश गरेको देखिँदैन । संघीय मामिला मन्त्रालयका सहायक प्रवक्ता अश्विनकुमार पोखरेलका अनुसार बजेट पारित गरिसकेका पालिकाले पनि मन्त्रालयको प्रणालीमा प्रविष्टि (इन्ट्री) नगर्दा यस्तो संख्या धेरै देखिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने व्यवस्था छ । गाउँसभा तथा नगरसभामा पेश भई पारित भएको विवरण संघीय मामिला मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ ।
बजेट पेश गरेका तर गाउँसभा तथा नगर सभाबाट पारित हुन बाँकी रहेका पालिकालाई पनि बजेट पेश भएको विवरण जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ ।