उद्योण वाणिज्य संघको निर्वाचन भदौं २ गते, मतदाता संख्या पाँच हजार आठ सय पुग्दैं
Tuesday, July 18th, 2023, 8:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भदौ २ गते हुने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले सोमबार पुनः निर्वाचनको मिति सार्ने निर्णय गरेसंगै संघको निर्वाचन भदौ २ गते हुने भएको हो । आगामी साउन २० गते निर्वाचन गर्ने भनि गत असार २० गतेको बैठकले निर्णय गरेको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघले निर्वाचन आयुक्तलाई मतदाता नामावली बुझाउन नसक्दा आगामी नेतृत्व चयनका लागि तोकिएको निर्वाचन सरेको हो । अब निर्वाचन आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जिवि ओलीले कालपृष्ठ दैनिकलाई बताए ।
संघको अघिल्लो निर्वाचनमा तिन हजार ६८ जना सदस्य रहेका थिए भने, यसपटकको निर्वाचनमा सो सख्या बढेर कम्तिमा पनि ५ हजार ८ सयको हाराहारीमा सदस्य कायम हुनसक्ने अनुमान गरिएको महासचिव ओलिले जानकारी दिए । संघले वरिष्ठ अधिवक्ता टिकाजंग सिहलाई निर्वाचन आयुक्त तोकेको छ ।
यता निर्वाचन लक्षित दौडधुप भने सुरु भईसकेको छ । यस पटकको निर्वाचनमा टंकसिंह धामी र ललित रौनियारको प्यानलबीच प्रतिस्पर्धा हुने पक्का जस्तै भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले सहितको संयुक्त टिमबाट ललित रौनियारको नेतृत्वमा निर्वाचनमा जाने तयारी छ ।
नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अध्यक्षमा रौनियारलाई अघि सारेको छ, भने मुख्यरुपमा नेकपा माओवादी केन्द्र निकट समावेशी प्यानलले धामीलाई । विभिन्न दलगत आस्था राख्ने व्यवसायीलाई समेटेर समावेशी प्यानलले विगतका निर्वाचनमा सहभागिता जनाउँदै आएको थियो । यी दुवैको नेतृत्वमा अन्य प्यानल गठबन्धनका रुपमा सहभागी हुने भएका छन् ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले धामी प्यानलसँग गठबन्धन गरेको छ । अध्यक्षका दुवै प्रतिस्पर्धी यतिबेला व्यवसायीको मत आफ्नो पोल्टामा पार्नको लागि दौडधुपमा छन् । सुरुआती चरणमा नेकपा एमाले निकट व्यवसायीहरुले सञ्जय अग्रवालको नेतृत्वमा प्यानल निर्माण गरी निर्वाचनमा होमिने निर्णय गरेका थिए । सोही निर्णयका कारण आउने निर्वाचनमा तीनवटा प्यानल हुने निश्चित जस्तै ठानिए पनि अचानक अग्रवालले अध्यक्षमा उम्मेदवारी नदिने निर्णयमा पुगेका थिए ।
निर्वाचन सर्ने निश्चित भएपछि व्यवसायीहरुले आफ्नो चुनावी कसरतलाई अँझ लम्ब्याउने अवसर प्राप्त गरेका छन् । यस समयमा आफुहरुले निरन्तर वार्ता र छलफल गरिरहेको बताउँछिन नेपालगन्ज उद्योग वाणिज्य संघकी सदस्य विन्दु चर्ति मगर ।
नेपालगन्ज उद्योग वाणिज्य संघले विधान संशोधन गर्दै महिला उपाध्यक्ष थप गरेको छ, भने महासचिव र कोषाध्यक्षलगायत पदमा पहिलोपटक प्रत्यक्षरुपमा निर्वाचन गराउन लागेका कारण पनि यो निर्वाचनलाई महत्वपुर्ण तरिकाले हेरिएको छ ।
उद्योग वाणिज्य संघको विधान संसोधन गरि अब प्रत्यक्ष निर्वाचनमा महिला उपाध्यक्ष अनिवार्य हुनुपर्ने र एक जना अध्यक्ष तथा तिन जना उपाध्यक्ष लगायत सबै पदाधिकारीहरुले प्रत्यक्ष निर्वाचित हुने बनाईएको छ । यस अघि पदाधिकारीमा अध्यक्ष र उपाध्यक्षको मात्रै चुनाब हुने गर्दथ्यो । तर, शंसोधित विधान अनुसार अब हुने निर्वाचनबाट एक जना अध्यक्ष र तिन जना उपाध्यक्ष लगायत सबै पदाधिकारीहरुले प्रत्यक्ष निर्वाचन लड्नु पर्ने छ ।
यस कार्यकालमा विन्दु चर्ति मगर र मन्दीरा पाण्डे गरि दुई जना प्रत्यक्ष निर्वाचित र दुई जना मनोनित गरि ४ जना महिला सदस्य मात्रै छन् । विधान शंसोधन पछि आगामी दिनमा नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा महिला सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।