कैलपाल कलेज ‘बेस्ट टेक्निकल कलेज अवार्ड’ बाट सम्मानित
Thursday, July 20th, 2023, 8:43 pm Kalpristha
नेपालभरिबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज, तथा स्कुल सन्चालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा गरेको योगदानलाई कदर गर्दै उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरेको हो
कालपृष्ठ समाचारदाता नेपालगन्ज, ४ साउन
नेपालगन्जको कैलपाल हस्पिटल एन्ड कलेज ‘बेस्ट टेक्निकल कलेज अवार्ड’ बाट सम्मानित भएको छ । एक्जिटो एजुकेसन अष्ट्रेलियाद्वारा प्रदान गरिँदै आएको ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ अन्तर्गतको एक विधा ‘बेस्ट टेक्निकल कलेज अवार्ड’ बाट कैलपाल हस्पिटल एन्ड कलेज सम्मानित भएको हो ।
सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो. चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फ्लोरिना अब्दुल्लाह र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।
कार्यक्रममा नेपालभरिबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज, तथा स्कुल सन्चालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा गरेको योगदानलाई कदर गर्दै उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरेको हो । यस कलेजको सिकाइ उपलब्धि ८५ प्रतिशतको हाराहारीमा रहेको छ । जहाँ अध्ययन सम्पन्न गरेका विद्यार्थीहरूको उद्यमशिलतामा ४३ प्रतिशत, रोजगारीको दर ३७ प्रतिशत र लोकसेवामा उत्तीर्ण दर १५ प्रतिशत छ ।
सम्मानित भईसकेपछि कालपृष्ठसँग प्रतिक्रिया दिँदै कलेजका निर्देशक रेवती सिंहले आफुहरु सम्मानित हुँदा झनै जिम्मेवार महसुस गरेको र आगामी दिनमा अझ प्रतिबद्व भएर प्राविधिक शिक्षाको उन्नयनमा जोड दिने बताईन् । सिङ्गापुरमा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ बाट देशभरिका ५ सयवटा स्कुल तथा कलेजहरुमध्ये ३३ वटा विभिन्न विधामा सम्मान गरिएको थियो ।
एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको व्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सन्चालक तथा स्कुलहरुलाई ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ द्वारा सम्मानित गरेको हो ।
सोहि कार्यक्रममा ‘लाईफटाईम अचिवमेन्ट अवार्ड’, ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द इयर अवार्ड’, ‘मोस्ट इन्नोभेटिव एडुकेसनिस्ट अफ द इयर अवार्ड’, ‘डाइनामिक एजुकेसन लिडर अवार्ड’, ‘एजुकेसन पायोनियर अवार्ड’, ‘बेस्ट +२ कलेज अवार्ड’, र ‘इन्नोभेटिव +२ कलेज’ अवार्ड प्रदान गरिएको थियो ।
साथै ‘बेस्ट प्रिन्सिपल अवार्ड’, ‘बेस्ट स्कुल अवार्ड’, ‘इन्नोभेटिव प्रिन्सिपल अवार्ड’, ‘इन्नोभेटिव स्कुल अवार्ड’ तथा ‘बेस्ट प्रिन्सिपल अवार्ड’ समेत प्रदान गरिएको थियो ।
एक्जिटो एजुकेसनले ५ सय भन्दा बढी आवेदनहरु मध्येबाट शिक्षा क्षेत्रमा विकासमा उलेख्य योगदान गरेका ३३ वटा स्कुल तथा स्कुल सन्चालकहरुलाई छनोट गरी सम्मान गरिएको हो ।