विवादको विषय बन्दैं नयाँ सदस्यता
Thursday, July 20th, 2023, 8:47 pm
Kalpristha
भदौं २ गतेको निर्वाचनमा यो संख्या बढेर करिब ६ हजार जति पुग्ने देखिएको थियो । यसपटक २ हजार ६ सय ४८ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । जुन थपिएको संख्या अस्वभाविक देखिन्छ ।
सौरभ राना
नेपालगन्ज, ४ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी भदौं २ गते हुँदैछ । भदौंमा हुन लागेको निर्वाचनमा अस्वभाविक रुपमा सदस्य संख्या बढेसंगै अहिले त्यसको बारेमा विवाद देखिएको छ ।
सदस्यता बढनुलाई सकारात्मक रुपमा लिने गरिएपनि निर्वाचन लक्षित गरेर सदस्यता दिदा संघ भित्र थुप्रै बिकृतीहरु पनि भित्रने सम्भावना बढेर गएको छ । संघको अघिल्लो निर्वाचनमा तिन हजार ६८ जना साधारण सदस्य थिए । भदौं २ गतेको निर्वाचनमा यो संख्या बढेर करिब ६ हजार जति पुग्ने देखिएको थियो । यसपटक २ हजार ६ सय ४८ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । जुन थपिएको संख्या अस्वभाविक देखिन्छ ।
अहिले नेपालगन्जका व्यवसायिहरु माझ सदस्यताको बारेमा नयाँ बहस सुरु भएको छ । व्यवसायीहरुका माझ निर्वाचनलाई लक्षित गरेर सदस्यता बढाएको आरोप एक अर्कामाझ लाग्ने गरेको छ ।
गैरव्यवसायिकहरुको संख्या बढदै गएपछि वास्तविक व्यवसायिहरु संघको नेतृत्वमा आउन नसक्ने अवस्था सृजना भएको बताउँछन् नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व महासचिव विष्णु लामिछाने । उनी भन्छन,‘चुनावलाई लक्षित गरेर सदस्यता बढाउँदा वास्तविक व्यवसायीहरुले चुनाव नजित्ने अवस्था आएको छ । यो भनेको व्यवसायीहरुको लागि राम्रो सन्देश होइन । यसमा सबैको कमजोरी छन होला । कसैले धेरै गल्ती गरेका हो न कसैले कम । यसका बारेमा निष्पक्ष छानबिन हुन जरुरी छ ।’
निर्वाचन जित्नलाई सदस्यता बढाउने प्रवृति रोक्न नसके दलका नेता र पैसा खर्च गर्न सक्नेले मात्र उद्योग वाणिज्य संघको निर्वाचन लडन् सक्ने बताउँछन् लामिछाने । सदस्यतामा देखिएको बिकृतिलाई रोक्न नसके संघले वास्तविक व्यवसायिहरुको हक, अधिकार र समस्याको बारेमा काम गर्न नसक्ने तर्क राख्छन लामिछाने ।
नेपालगन्ज उद्योण वाणिज्य संघको पछिल्लो साधारण सभामा ९ सय ४३ जना साधारण सदस्यको सहभागिता रहेको थियो । संघको विधान अनुसार निर्वाचन मिति टुङ्गो लाग्नु अघि सम्म नयाँ सदस्यताको लागि आवेदन दिन सकिन्छ । निर्वाचन तोकिएको दिन देखि हप्ता दिन भित्रमा पुराना सदस्यले नविकरण गर्ने मौका पाउँछन । यस पटकको निर्वाचनमा किर्ते कागजातको प्रयोग र गैरव्यवसायिहरुलाई नयाँ सदस्यता दिएको भन्दैं प्रजातान्त्रिक उद्योग व्यवसायिहरुले सदस्यता छानविनका लागि निवेदन दिएका थिए ।
त्यसलाई सम्बोधन गर्दै नेपालगन्ज उद्योण वाणिज्य संघले उपाध्यक्ष अमित बस्नेतको संयोजकत्वमा सदस्यता छानविन समिति गठन गरेको छ । जसले केहि दिनमा सदस्यताको बारेमा टुङ्गो लगाउने तयारी गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरिञ्जीवी ओलीले बताए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य सदस्यता संख्या बढनुलाई सकारात्मक रुपमा लिनु पर्ने बताउँछन् । निर्वाचनको समयमा नयाँ सदस्य संख्या बढनु स्वभाविक भएको बताउँदैं वैश्य भन्छन, ‘संघमा गैरव्यवसायिकहरु सदस्य बन्नै सक्दैनन् । सदस्यता पाउनको लागि सबै प्रक्रिया र कागजात पुग्नु पर्छ । व्यापार गरिरहेकाहरुलाई सदस्यता लिनको लागि प्रोत्साहन गर्नु पर्छ ।’
सदस्यता वितरण एउटा नियम र प्रणालीबाट हुनु पर्छ भन्ने आफनो मान्यता रहेको वैश्यले कालपृष्ठ दैनिकलाई बताए । उनले थपे,‘संघको एउटा नियम र प्रणाली भन्दा बाहिर गएर कसैले काम गर्न पाउँदैन । नियम विपरित कसैले दर्ता गरेको छ भने त्यो खारेजी हुनु पर्छ । हामी पनि त्यसमा समर्थन गछौं ।’
सदस्यता नविकरण र नयाँ सदस्यता दिने प्रणालीका बारेमा भने केहि सुधार गर्न जरुरी रहेको वैश्यले बताए ।