‘मेरो विरुद्वमा मिथ्या सुचना फैलाईयो’
Thursday, July 20th, 2023, 8:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ साउन
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफूले गृह मन्त्रालय नेतृत्वमाथि प्रश्न उठाउँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूविरुद्ध साइबर अपराध प्रमाणित गरेर थुन्न सार्वजनिक चुनौती दिएका छन् ।
गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै परिमाणमा सुन तस्करी गर्न संभव नहुने सूचना आफूलाई आएको बिषयमा राखेको अभिब्यक्तिलाई लिएर गृहमन्त्री श्रेष्ठले सचिवालयकै सदस्यलाई प्रहरीमा उजुरी दिन लगाएको भन्दै बस्नेतले यस्तो चुनौती दिएका हुन् ।
बस्नेतले भ्रामक प्रचार गरेको भन्दै गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले साइबर ब्युरोमा उजुरी दिएलगत्तै बस्नेतले वक्तव्य जारी गर्दै गृहमन्त्रीले दिनभर आफूविरुद्ध पक्राउको समाचार लेखाएर प्रहरीलाई साइबर क्राइम लगाउन आदेश दिएको तथ्य खोलेका हुन् ।
आफूले गृह मन्त्रालय नेतृत्वमाथि प्रश्न उठाउँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूविरुद्ध साइबर अपराधको मुद्दा लगाएर थुन्न प्रहरीलाई निर्देशन दिएको आरोप अध्यक्ष बस्नेतको छ ।
गृहमन्त्रीको सचिवालयले बिहीबार दिनभर आफूलाई पक्राउ गरिएको भनेर समाचार लेखाएको र साइबर व्युरोमा उजुरी दिएको भनेर धम्की दिएको उनको भनाइ छ । ‘दिनभर सचिवालयका सदस्य खटाएर मलाई पक्राउ ग¥यो भनेर समाचार लेखाउने काम भयो । समाचार लेख्नेहरू अहिले गृहमन्त्रीको सचिवालयबाट गलत सूचना दिए भन्दै हटाइरहेका छन् । सुनकोशी डटकमले समाचार हटाएको छ । त्यो समाचार लेखाउने व्यक्ति गृहमन्त्रीकै सचिवालयका सदस्य हुन् भन्ने कुरा प्रमाणित भइसकेको छ,’ उनले भने ।
साइबर आतङ्क मच्चाएर बिरोधी सबैको मुख बन्द गराएर आफूले गरेको सबै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना बनाएको उनको आरोप छ ।