धामीको नेतृत्वमा बन्यो समावेशी प्यानल
Friday, July 21st, 2023, 8:50 pm
Kalpristha
समावेशी प्यानलबाट माओवादी निकट व्यवसायी टंक धामी, उपाध्यक्ष(उद्योग) चिरिञ्जीवी ओली, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे र वाणिज्य तर्फको उपाध्यक्षमा राप्रपाको उम्मेदवार लडने सहमति भएको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा पुरानो समिकरण भत्कदैं नयाँ समिकरण बनेको छ । नेपाली कांग्रेस र नेकपा एमाले बिचको समिकरण अन्तिम चरणमा पुगेर सहमति हुन नसकेपछि नयाँ समिकरण बनेको हो । पद बाडफाडमा एमाले निकटका व्यवसायीले असहमति जनाउँदैं सहकार्य नगर्ने निर्णय गरेका थिए ।
अब चुनावी मैदानमा नेकपा एमाले, नेकपा माओवादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी सहितको समावेशी प्यानल बनेको छ । जसको शुक्रबार नेपालगन्जको न्युरोडमा प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । समावेशी प्यानलबाट माओवादी निकट व्यवसायी टंक धामी, उपाध्यक्ष(उद्योग) चिरिञ्जीवी ओली, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे र वाणिज्य तर्फको उपाध्यक्षमा राप्रपाको उम्मेदवार लडने सहमति भएको छ । राप्रपाले उपाध्यक्षको उम्मेदवारको बारेमा टुङ्गो लगाएको छैन् । महासचिव र अन्य सदस्यहरुको बारेमा भने समावेशी प्यानलले टुङगो लगाउन बाँकी छ ।
यता नेपाली कांग्रेस निकट प्रजातान्त्रिक व्यवसायी संघले ललित रौनियारको नेतृत्वमा चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी भदौं २ गते हुँदैछ । निर्वाचनमा करिब ६ हजार सदस्य पुग्ने सम्भावना देखिएको छ । सदस्यताको विषयमा विवाद आएपछि अहिले संघले छानविन गरिरहेको छ । यसपटक २ हजार ६ सय ४८ जनाले नयाँ सदस्यताप्राप्त गरेका छन् ।
सदस्यतामा विवाद उत्पन्न भएपछि त्यसलाई सम्बोधन गर्दै नेपालगन्ज उद्योण वाणिज्य संघले उपाध्यक्ष अमित बस्नेतको संयोजकत्वमा सदस्यता छानविन समिति गठन गरेको छ ।
समावेश प्यानलको खुल्यो सचिवालय
आगामी भदौं २ गते हुने निर्वाचनलाई लक्षित गरेर समावेशी प्यानलले आफ्नो सचिवालय उद्घाटन गरेको छ । शुक्रबार नेपालगन्ज न्युरोडमा एक कार्यक्रम आयोजना गरि समावेशी प्यानलले आफ्नो सचिवालय उद्घाटन गरेको हो ।
समावेसी प्यानलको संरक्षक तथा व्यवसायी स्वर्गिय दामोदर आचार्यकी पत्नि पार्वता आचार्य, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी ‘चुन्ना’ र नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्यले सो सचिवालयको उद्घाटन गरेका हुन् ।